
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २० गतेको सञ्चालक समितिको बैठकले नौविसे एग्रो रिसोर्ट, नौविसे धादिङमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश समेत वितरणयोग्य बनाउँनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४० करोड ४८ लाखको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो ।
यी प्रस्तावहरुसँगै कम्पनीले संस्थापक समूहबाट चार जना सञ्चालकहरु निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय गरेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ती गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई पनि सभाले अनुमोदन गर्नेछ । डिप्रोक्ससँगको प्राप्ती प्रकृयाका लागि कम्पनीको शेयर कारोबार २०७७ पुस १६ गतेदेखिनै रो्क्का रहेकाले सोही मितिलाई सभाको बुक क्लोजको मिति तय गरिएको छ ।
यस कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. ९४ लाख ११ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफामा ७९ दशमलव ३८ प्रतिशत कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ५६ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ५३ लाख ४६ हजार छुट्याएको कम्पनीले यस वर्ष रू. ३ करोड ७७ लाख १७ हजार छुट्याएको हो ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ७९ दशमलव ७७ प्रतिशत कम रू. १ करोड ४० लाख ५० हजार भएको छ । खुद ब्याज आम्दानी पनि गत वर्षभन्दा करिब २५ प्रतिशत घटेर रू. १० करोड २८ लाख ५४ हजारमा सिमिति भएको छ । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. १३ करोड ६९ लाख ५७ हजार खुद ब्याज आम्दानी गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड ४८ लाख रहेको छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम ३२ प्रतिशतले बढेर रू. ३७ करोड ९८ लाख १४ हजार कायम भएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा १४ प्रतिशत कम रू. १ अर्ब ९९ करोड ७३ लाख कर्जा सापटी लिएको छ भने १४ दशमलव ७५ प्रतिशत बढी रू. १ अर्ब ५९ करोड १५ लाख निक्षेप संकलन गरेको छ ।
कम्पनीको कर्जा प्रवाह भने गत वर्षभन्दा ५ दशमलव २७ प्रतिशत बढी रू. ४ अर्ब ५१ करोड २ लाख रहेको छ । गत वर्ष ४ दशमलव ४२ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर ४ दशमलव ७७ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ९ दशमलव ३० रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव ८३ छ ।
प्रतिक्रिया दिनुहोस