
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको केन्द्रिय कार्यालयसँगै शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । योग्य आवेदकहरुले फागु २ गतेसम्म कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । यस हकप्रद शेयरलाइ इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ ।
हाल रू. २९ करोड ७६ लाख ७५ हजार चुक्तापूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपश्चात रू. ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ । बैशाख १५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको लागि निवेदन दिएको कम्पनीलाई बोर्डबाट पुस १ गते स्वीकृति प्राप्त भएको हो ।
कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । थप ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ५४ करोड १७ लाख ६८ हजार पुग्नेछ ।
कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाँढी पहिलो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दिर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस