aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मध्यपहाडीमा सवारी सञ्चालन गर्न प्रहरीको अनुमति चाहिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ पुस २०७८
मध्यपहाडीमा सवारी सञ्चालन गर्न प्रहरीको अनुमति चाहिने

रुकुम । रुकुमपूर्वमा मौसममा सुधार नआएसम्मका लागि भनेर मध्यपहाडी लोकमार्ग सञ्चालनमा रोक लगाइएको छ । रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातका कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । राजमार्गको अवरोध हटाउन सञ्चालन समितिको बैठक बसेर यस्तो निर्णय गरिएको समितिको संयोजकसमेत रहनुभएका प्रजिअ बाँस्कोटाले बताए ।

जिल्लास्थित सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायीको उपस्थितिमा गरिएको छलफल र यातायात व्यवसायीबाट आएको सुझावका आधारमा मध्यपहाडी लोकमार्गको पातीहाल्ना खण्डमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो । मध्यपहाडी लोेकमार्गमा जमेको साढे दुई फिट हिउँ पाँच दिन लगाएर डोजरले पन्छाएको तर त्यसमा सवारी सञ्चालन गर्न धेरै नै जोखिम रहेकाले लोकमार्ग बन्द गर्ने निर्णय गरिएको प्रजिअ बाँस्कोटाले बताउनुभयो । उनका अनुसार यस खण्डमा सार्वजनिक सवारीलाई पूर्णरूपमा रोक लगाइएको छ । निजी फोरबिल वाला गाडी भने जान सक्नेछन् ।

अत्यावश्यक परेको खण्डमा मात्र सार्वजनिक गाडी प्रहरीको अनुमतिमा यस खण्डमा चलाउन सकिने छ । गाडीको अवस्था कस्तो छ र लोड कत्तिको छ भनेर हेरेपछि प्रहरीले उपयुक्त ठानेर पठाएको खण्डमा मात्र सार्वजनिक गाडी पातीहाल्नाको बाटो भएर जाने छन् । एक–दुई दिनलाई भने पूर्णरूपले लोकमार्ग ठप्प रहेको प्रजिअ बाँस्कोटाले बताएका छन । रुकुमपूर्वबाट बागलुङतर्फ जाने बाटो हिउँले चिप्लो बनाएको र उकालो पर्ने भएकाले दुर्घटना हुनसक्ने जोखिम धेरै रहेको उनको भनाइ छ ।

बागलुङतर्फबाट भने एकतर्फीरूपमा रुकुमपूर्वतर्फ केही सवारी जोखिम मोलेर आइरहेका छन् । बागलुङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सकभर उतापट्टिबाट पनि यस खण्डमा सवारी सञ्चालनमा रोक लगाउने प्रयास गरिरहेको प्रशासनले जनाएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यस खण्ड हुँदै रुकुमपूर्वसँगै काठमाडौँ, पोखरा, रोल्पा, ओहोरदोहोर गर्ने मानिस समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस