
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सुचिकृत १२ जीवन बीमा कम्पनीहरुमध्य हालसम्मम ६ कम्पनीहरुले मात्र लाभांश घोषणा गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र ज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन ।
यी ६ कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । यी मध्य प्राइम लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरिसकेको छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गते, सूर्या लाइफ इन्स्योरेन्सले पुस १९ गते र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस ११ गते साधारण सभा सम्पन्न गरेका हुन ।
यस वर्ष प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश, सूर्या लाइफले १२ दशमलव ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश र रिलायन्स लाइफले कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेका हुन ।
बाँकी तिन कम्पनी एशियन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाउन बाँकी रहेको छ । हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरु मध्ये सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावित लाभांश बिमा समितीले स्वीकृत गरेको छ भने अव कम्पनीको साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।
त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले शेयरधनीलाई आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । जीवन बीमा कम्पनीहरुको बीमाङ्किय मूल्याङन (एक्चुअरी भ्यालुएसन) भारतमा गराउनुपर्ने कारण साधारण सभा एक वर्ष ढिला हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस