
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आइपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. ४ करोड २० लाख रहेको छ । आइपीओ निष्कासन बाँडफाँटपछि पूँजी रू. ६ करोड ८६ लाख २५ हजार पुग्नेछ ।
चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ प्रतिशत घटेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २ करोड २६ लाख ७७ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४१ लाख ३५ हजार झरेको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड ४३ लाख ऋणात्मक रहेकाले र खुद ब्याज आम्दानी पनि गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेकाले नाफा घट्न दबाव पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ४ करोड ९ लाख ३८ हजार खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएको छ । जगेडामा रू. १३ करोड १३ लाख ९१ हजार सञ्चित गरेको छ ।
प्रतिक्रिया दिनुहोस