aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बढ्न थाल्यो तरुलको व्यापार, मूल्य पनि आकाशियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
बढ्न थाल्यो तरुलको व्यापार, मूल्य पनि आकाशियो

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ । यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदि खाने चलन छ ।  

यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ । तरुलमा प्रोटिन र भिटामिन ए प्रशस्त मात्रामा पाइने भएकाले पनि यसको आफ्नै विशेषता छ ।  

यसले गर्दा पनि माघी पर्वमा विशेष गरी तरुल र कन्दमुल बढी बिक्री हुने गर्दछ । काठमाडौं उपत्यकामा पनि तरुलको व्यापार बढेको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले पनि तरुलसंगै विभिन्न कन्दमुलको बिक्री बढ्न थालेको जनाएको छ ।  

समितिका अनुसार यस वर्षको माघिका लागि उपत्यकामा तरुल, सखरखण्ड र पिडालु १५०८ टन भित्रिएको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले यहि पुस महिनामा मात्रै १ हजार ५७ टन तरुल, २८६ टन पिडाँलु, १६४ टन सखरखण्ड भित्रिएको बताए ।

उनले माघिका लागि उपत्यकाका विशेष गरी तराईका विभिन्न जिल्लाहरुबाट आउने तरुल, सखरखण्ड र पिडालु आउने गरेको समेत जानकारी दिए ।  श्रेष्ठ भन्छन्, ‘माघी पर्वका लागि विशेष गरी तराईका सर्लाही र सुनसरीबाट तरुल, सखरखण्ड र पिडालु बढी आउने गरेको छ । त्यस्तै धादिङ काभ्रे मकवानपुर, चितवन नवलपरासी र पाल्पा लगायतका जिल्लाहरुबाट पनि आउने गरेको उनले बताए ।   

‘यस महिना उपत्यकामा भित्रिएको १५०८ टन तरुल, सखरखण्ड र पिडाँलु मध्ये ११ प्रतिशत भारतबाट पनि आएको छ । तर, बजारको मागलाई नेपालकै उत्पादनले पुगेको छ’, उनले भने, ‘करिब ९० प्रतिशत उत्पादन नेपालकै रहेको छ । भारतबाट नआए पनि यहाँको उत्पादनले बजारको मागलाई धान्छ ।’  

तर, सखरखण्डको माग भने नेपाली उत्पादनले धान्न सकेको नसकेको उनले बताए । उनले भने, ‘तरुलसँगै सखरखण्डको माग पनि धेरै रहेके छ । यस मागलाई नेपाली उत्पादने धान्न सक्दैन । जसले गर्दा बजारमा आएका सखरखण्ड ५० प्रतिशत भारतबाट आयातित हो ।’ 

श्रेष्ठका अनुसार माघी पर्वका लागि माग हुने विभिन्न किसिमका तरुलहरु मध्ये ९० प्रतिशत तरुल नेपालमै उत्पादन हुने हुँदा तरुलको माग भने सहज रुपमा नै धानिरहेको छ । सबैभन्दा बढी सर्लाहीको तरुल बढी खरिद बिक्री हुने गरेको छ । सर्लाहीको घर तरुल र सेतो तरुल बढी बिक्री हुने गर्छ ।

तरुललाई ठाउँ अनुसार सबैले आ–आफ्नै ठाँउको उत्पादनलाई राम्रो मान्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘नेपालमा धेरै किसिमका तरुल उत्पादन हुने गर्छन्् सबैको छुट्टै विशेषता समेत रहेको हुँदा सबैले आ–आफ्नै ठाँउको उत्पादनलाई स्वादिलो र राम्रो मान्ने गर्छन् ।’ लोकल ठाउँमा उत्पादन हुने बन तरुल, घर तरुल, पातले तरुल, सेतो तरुल राते तरुल, सिमल तरुलको पनि छुट्टै स्वाद र विशेषता  हुने गरेको उनी बताउँछन् । 

उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष तरुल लगायत कन्दमुलको मूल्य बढेको छ । हाल बजारमा तरुलको मुल्य ६० रुपैयाँदेखि १५० रुपैयाँसम्म बिक्री भएको छ ।  बजारमा सेतो तरुल प्रतिकिलो ६० देखि ७० रुपैयाँमा बिक्री भएको उनले बताए । उनी भन्छन्, ‘यस वर्ष बजारमा तरुलको मुल्य ६० रुपैयाँ देखि १५० रुपैयाँ सम्म रहेको छ । सेतो तरुल प्रतिकिलो ६० देखि ७० रुपैयाँमा बिक्री हुँदा अन्य तरुल भने १५० रुपैयाँसम्म बिक्री भएको छ ।’   

यस वर्ष सबैभन्दा कम मुल्यमा बढी कारोबार भएको तरुल सर्लाहीको बन तरुल र सेतो तरुलको रहेको उनले बताए । उनले भने, ‘यो वर्ष कम मुल्यमा र धेरै बिक्री भएको तरुल सर्लाहीको उत्पादन हो । सेतो तरुल, बन तरुल, हात्तिपाइले तरुल सेतो तरुल भने अरु तरुलको तुलनामा महङगो हुने गरेको छ ।’ 

सुनसरीबाट आउने गरेको हात्तिपाइले तरुल भने ७० देखि ८० रुपैयाँ केजीसम्म बिक्री हुने गरेको उनी बताउँछन् । त्यस्तै पहाडी क्षेत्रमा उत्पादन हुने हात्तिपाइले तरुल पनि महङ्गो रहेको उनले जानकारी दिए ।  

उता, सर्लाहीमा उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दङ्ग छन् । विगतका वर्षको तुलनामा तरुलले दोब्बर बढी मूल्य पाएपछि किसान दङ्ग छन् । गतवर्ष प्रतिकिलो ३५ देखि ४० रुपैयाँमा बिक्री भएको तरुल यो वर्ष प्रतिकिलो ५० देखि ८० मा बिक्री भइरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस