
भैरहवा । रुपन्देहीको बेलहीया, लुम्बिनी करिडोर र पडसरी क्षेत्रमा सडकमै ओभरलोड सहितका मालवाह गाडीहरु घन्टौंसम्म रोकिने गरेको छ । बुटवल बेलहीया व्यापारिक मार्गमा घन्टौं सम्म मालवाहक गाडी रोकिँदा आवतजावतमा समस्या सिर्जना हुनुका साथै सडकको अवस्था जिर्ण बनेको छ । १० टनको क्षमता भएको सडकमा ४० टन सम्मका गाडी गुड्ने र घन्टौंसम्म सडकमा राखिने गरेको छ । ओभरलोड बोकेका गाडि र नियन्त्रण गर्ने ट्राफिक प्रहरी मुक्दर्शक बनेको देखिएको छ ।
भैरहवादेखि लुम्बिनी जाने सडकमा दर्जन बढी उद्योगहरु छन् । ती उद्योगमा जाने गाडी उद्योग भित्र नगएर घन्टौं सम्म सडक नै जाम गर्ने गरी रोकिने गरेको छ । बुद्धजन्मस्थल जाने सडकको अवस्था निर्माणाधिन गरेको १ वर्ष नबित्दै ध्वस्त भइसकेको छ । उद्योगमा जाने कच्चा पदार्थ बोकेका गाडि र तयारी सामान बोकेका गाडि उद्योग भित्र नरोकेर सिधैं सडकमा पार्किङ गरिने गरेको छ । लुम्बिनी रोडमा सडक नै जाम हुने गरेर अम्बे स्टिल अगाडी पार्किङ गरिन्छ ।
जगम्बा सिमेन्ट र बृज सिमेन्ट उद्योग अगाडि पार्किङ गरेका गाडी र उद्योग भित्रबाट ओभरलोड बोकका गाडी सडकमै पार्किङ गर्ने गरिन्छ । सिमेन्ट उद्योगमा ओभरलोड बोकेका गाडी सिधै प्रवेश गर्छ । पाल्पा जिल्लाबाट लुम्बिनी करिडोर सम्म आइपुग्दा हरेक चोक चोकमा रहेका ट्राफिक प्रहरीले ओभरलोड बोकेर हिँडेका टिप्परलाई टुलुटुलु आँखाले हेर्ने मात्रै हो । रोक्ने र चेक जाँच गर्ने हिम्मत गर्दैनन् । ड्युटीमा रहेका एक प्रहरी जवानका अनुुसार टिप्पर रोकेमा कतिबेला कहाँ सरुवा हुन्छ भन्ने निश्चित नहुने भएकोले टिप्पर सोध्न र रोक्न नसकेको बताउँछन् ।
पाल्पा जिल्ला देखि सिमेन्ट उद्योग सम्म चुनढुङ्गा बोकेका टिप्परका चालकले साहुहरुले सेटिङ मिलाएका कारण प्रहरीले रोक्ने र सोध्ने नगरेको बताउँछन् । पडसरीमा रहेको एभरेष्ट रोलिङमा पनि ओभरलोड बोकेका गाडी सडकमै राखिएको छ । एभरेष्ट रोलिङ नजिको सडक पनि जिर्ण बनेको छ । उद्योगले ओभरलोड बोक्ने, सडकलाई ध्वस्त पारी उद्योगले आम्दानी गरिरहेको छ ।
सडकको अवस्थाको बारेमा कुरा गर्ने हो भने कोटीहवामा रहेको पन्चकन्या गु्रपले आफ्नो उद्योग अगाडि सडक खुलाएको छ । सडकको नीतिमा कुनै व्यक्ति विशेष र उद्योगका लागि आवश्यक परेमा सडक खोलिने भन्ने छैन । ठूला ठूला चोकमा बाहेक पैदल यात्रीलाई समेत आवत जावत गर्न खोलिएको छैन । सडकको नीति भन्दा विपरित गएर पन्चकन्या अगाडि सडक खोलिएको छ । खोलिएको सडक उद्योगलाई लक्षित छ । उद्योगको बाहेक कुनै गाडिलाई घुमाउन तथा बाटो क्रस गर्न दिँदैन ।
सडक नै जाम हुने गरी उद्योगले राखेका गाडीका कारण आवतजावत गर्न समेत कठिन हुने गरेको सर्वसाधारण बताउँछन् । सिक्सलेन सडकमा प्राइभेट कम्पनीलाई लक्षित गरेर सडक खोलिएको विषयमा सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासीनीले पहिले देखि खुलेका कारण अहिले बन्द गर्न नसक्ने बताउँछन् ।
सडकमा अनाधिकृत रुपमा पार्किंग सवारी साधन हटाउने जिम्मेवारी ट्राफिक प्रहरीको हो तर ट्राफिक प्रहरीले ढुवानी व्यवासायी र उद्योगीसँग मासिक रुपमा विभिन्न सेवा सुविधा लिने गर्दछ । एक जना ट्राफिक जवानका अनुसार ट्राफिकका हाकिम चढ्ने गाडी उद्योगिले मर्मत गरिदिने हो, तेल उद्योगीले हालीदिने हो, अनि हाकिमहरुको खानपीन उद्योगि म्यानेजरसंग हुन्छ यसैले हामीले सडकमा सिठठ्ठी फुकेर केहि बेर त गाडी लखटौला तर यो समस्या समाधान गर्न माथिकैले दिदैंनन ।
ओभरलोड बोकेका गाडी बेलहीया बाइपासमा अव्यवस्थित ढङ्गबाट पार्किङ गरेर राखिएको छ । यहाँ जिल्ला ट्राफिक प्रहरीले राजश्व उठाउनको लागि २४ घण्टे ड्युटी नै गर्छ । ट्राफिकले एक्लै होइन इलाका प्रहरी बेलहीया पनि संयुक्त रुपमा छ । जनपथ प्रहरीलाई ओभरलोड र भभ्भरको विषयमा कुनै अधिकार छैन तर अचम्म छ बेलहीयमा कस्तो ड्युटि होला । जनपथले नै ट्राफिकको काम गरि रहेका छन् । रुपन्देहीमा अहिले दैनिक दुर्घटना बढ्दै गएको छ । ट्राफिक लाइट सिक्सलेन सडकमा जडान गरिएको छ तर ट्राफिक जनचेतनाका कारण जेब्राक्रस र ट्राफिक टाइट अगाडि दुर्घटना हुँदा धेरैको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस