
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि विभिन्न स्थानमा कडाई गरेको छ । सरकारले १५ दिनसम्म विद्यालय बन्द गर्नेदेखि २५ जनाभन्दा बढीको उपस्थिति हुनेसबै सार्वजनिक कार्यक्रमहरु बन्द गर्ने निर्देशन जारी गरेको हो ।
सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि)मा प्रवेश गर्दा यहि माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाईलमा फोटो भएपनि हुने) साथमा राख्ने यस्ता सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्ने भनिएको छ । साथै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिने समेत भनिएको छ ।
कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)को पुस २५ गते बसेको बैठकले खोप कार्ड अनिवार्य गर्ने निर्णय गर्दै यसलाई कार्यान्वयन गर्न सम्बद्ध सबै निकायलाई सिफारिस गरेको थियो । सोहीअनुसार माग ७ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य चाहिनेछ ।
अनिवार्य खोप कार्ड नियमलाई दण्डको रुपमा नभई खोप लगाउन प्रोत्साहन गर्नका लागि ल्याइएको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)को प्रवक्ता सुनिता नेपाल बताउँछिन् । उनी भन्छिन्, ‘सिसिएमसीले गरेको अनिवार्य खोपको नियम कसैलाई दण्डित गर्न ल्याइएको होइन । खोप लगाउनका लागि प्रोत्साहन गर्नका लागि ल्याइएको हो । यो नियमलाई दण्डितरुपमा नभई प्रोत्साहनको रुपमा हेर्न जरुरी रहेको छ ।’
साथै उनले खोप कार्यक्रम सञ्चालन गरेको वर्ष दिन भइसक्दा समेत पूर्ण खोप लगाउनेको संख्या ४० प्रतिशत पनि पुग्न नसकेको गुनासो गरिन् । उनले भनिन्, ‘खोप सञ्चालन गरिएको लामो समय भइसक्दा समेत कतिपयले खोप नि लगाएका छैनन । कोरोना विरुद्ध लड्नका लागि खोप आवश्यक छ भनेर सरकारले जनचेतानामुलक अभियान पनि चलाइरहेको छ । तर, कतिपयले खोप लगाएकै छैनन । यो नियमले खोप लगाउनेको संख्या बढ्न सक्छ ।’
त्यस्तै, उनले एक मात्रा खोप लगाएकाले पनि सम्पूर्ण सेवा पाउने जानकारी दिईन् । साथै उनले अहिले विद्यालय बन्द भए पनि खोप कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् । नेपालले भनिन्, ‘विद्यालय बन्द भए पनि खोप कार्यक्रम सञ्चालन भइरहेको छ । यससँगै सरकारले वडा कार्यलयदेखि विभिन्न स्थानमा खोप अभियान सञ्चालन गरिरहेको छ । सबैलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन अनुरोध गर्दछु ।’
सरकारले माघ ७ गतेदेखि लागू हुनेगरी खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेहरु पनि बढेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पुस २५ गते बसेको सिसिएमसिसीको बैठकले खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेपछि हालसम्म (सात दिनमा) १७ लाख ७० हजार ८८४ जनाले खोप लगाएका छन् ।
सरकारले खोप कार्ड अनिवार्य गरेका कारण खोप लगाउनेहरुको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी बताउँछन् । उनी भन्छन्, ‘पहिला पहिलो खोप लगाउन आउनुहोस् आउनुहोस् भन्दा पनि आउन मान्दैनन् थिए । घरको छेउमै खोप केन्द्र राख्दा समेत खोप लगाउन मान्दैनन थिए । तर, अहिले खोप लगाउनेहरु बढ्न थालेका छन् । यो संख्या बढ्नु भनेको सरकारले ल्याएको अनिवार्य खोप कार्ड नियमका कारण पनि हो । यससँगै पछिल्लो समय कोरोना संक्रमण बढेकोले खोप लगाउनेहरु बढेका हुन् ।’
अहिले देशभरका खोप केन्द्रमा पहिलो र दोस्रो डोजको खोप लगाउनेको भिड बढेको उनले जानकारी दिए । अनिवार्य खोप कार्ड नियम प्रभावकारी हुने बताउँदैउनले भने, ‘पछिल्लो केहि दिन यता कोरोना विरुद्धको खोप लगाउन आउनेको संख्या बढ्नुमा अनिवार्य खोप कार्डको नियम नै रहेको छ । खोप लगाउनेको संख्या बढेसंगै चाडै नै प्रगति हुन्छ भन्ने हाम्रो अपेक्षा छ । यससंगै जोखिम कम गर्न सकिन्छ ।’
त्यस्तै, उनले अहिले विद्यालय बन्द रहे पनि खोप कार्यक्रम भने सञ्चालन भइरहेको जानकारी दिए । उनले भने, ‘हरेक विद्यालयमा विधार्थी तथा अभिभावलाई सम्पर्क गरेर खोप लगाउन बाँकी रहेका सबै विद्यार्थीहरुलाई खोप लगाउने व्यवस्था गरेका छौं । जसले गर्दा छोटो समयमा धेरै विद्यार्थीहरुलाई खोप लगाउन सफल भएका छौं ।’
उनका अनुसार कोरोना विरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्छ भनेर खोप केन्द्र अभियानलाई तिव्रता दिइएको छ । खोप समन्वय समितिहरु र स्थानिय तहहरुलाई स्थानिय वस्तु स्थिती अनुसार खोप केन्द्रहरुको व्यवस्थापन गर्ने, खोप लगाउन बाँकी रहेकाहरुको व्यक्तिहरुको नजिकसम्म पुगेर खोप केन्द्रहरु राख्ने काम भइरहेको छ ।
कतिपयको खोप कार्ड हराएको छ भने यस्तो अवस्थामा यथार्थ विवरणसहित जुन केन्द्रमा खोप लगाइएको छ त्यही खोप केन्द्र वा स्वास्थ्य कार्यालयमा सम्पर्क गरेर खोप कार्ड लिन सकिने उनले जानकारी दिए ।
तर, सरकारले ल्याएको अनिवार्य खोप कार्डको निती प्रभावकारी नहुने सरकारका पूर्व सचिव खगराज बराल बताउँछन् । उनी भन्छन्, ‘सरकारले ल्याएको अनिवार्य खोप कार्ड निति भोलिका दिनमा प्रभावकारी हुँदैन । खोप कार्ड नभएकै कारण सर्वसाधरणले सेवा पाउन मुश्किल पर्न सक्छ । यसमा जनता ठगिन सक्छन् । गर्नै पर्ने काम खोपकार्डका कारण रोकिन सक्छ ।’
साथै उनले कतिपय सर्वसाधरणले खोपकार्ड सुरक्षित नराखेको हुनसक्ने पनि आशंका व्यक्त गरे । ‘कतिपय सर्वसाधरणले खोप लगाइसकेको कार्ड सुरक्षित नराखेको पनि हुनसक्छ’, उनले आफ्नो खोपकार्ड हराएको सुनाउँदै भने, ‘मेरो पनि खोपकार्ड छैन । यसले गर्दा मैले खोप कार्डको लागि अनलाइन फर्म भरे । कुनै रेस्पोन्स आएन । पछि सम्पर्क गर्दा हामी निकै व्यस्त छौं खोप लगाएको सम्बन्धित पालिकामा सम्पर्क राख्नुहोस् भनियो ।’ साथै उनले खोप कार्ड हराएकाहरुले कार्डको लागि अनलाइन भर्दा छिटो छरितो तरिकाले कार्ड पाउने व्यवस्था मिलाउन जोड दिनु पर्ने समेत बताए ।
त्यस्तै,सरकारले सबैलाई खोप नलगाई यस्तो नियम ल्याउन नहुने सकेत उनको तर्क छ । पूर्व सचिव बरालले भने, ‘सरकारले ४० प्रतिशतलाई पनि पूर्ण खोप लगाएको छैन । यस्तो बेलामा अनिवार्य खोप कार्ड बिना सार्वजनिक सेवा लिन नपाइने नियम प्रभावकारी हुँदैन । बरु सरकारले घरघरमा गएर भएपनि सबै जनतालाई खोप लगाउनमा जोड दिनु पर्छ ।’
प्रतिक्रिया दिनुहोस