
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन शेयरमूल्य २ दशमलव २८ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २७ ले बढेर अन्तिम मूल्य रू. १ हजार २१३ कायम भएको हो । यस दिन कम्पनीको रू. १३ करोड ७० लाख १७ हजार बराबरको १ लाख १३ हजार ३१० कित्ता शेयर किनबेच भएको छ ।
यस वर्ष कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि माघ २१ गते २८औं वार्षिक साधारण सभा बोलाएको कम्पनीले सभा प्रयोजनका लागि पुस ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीको पुस २८ गतेको सञ्चालक समितिको बैठकले प्रिमियर भवन नक्साल, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु समेत पारित गर्नेछ ।
बीमा समितिले यस वर्ष बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएसँगै कम्पनीले यस अघिको प्रस्तावित लाभांश परिमार्जित गरेको हो । यस अघि कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ५ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले कुल लाभांशमा नघटाई बोनस शेयर शेयर र त्यसको कर वापतको रकम मात्र वितरण गर्न लागेको हो ।
यी प्रस्तावसँगै कम्पनीले कम्पनीको नियमावली संशोधन र निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग मर्जर वा प्राप्ती गर्ने विषयलाई पनि अघि सारेको छ । यदि कम्पनी मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस