aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हकप्रद शेयर निष्कासन गर्न लागेको छ्याङदी हाइड्रोपावरको कस्तो छ त वित्तीय अवस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ माघ २०७८
हकप्रद शेयर निष्कासन गर्न लागेको छ्याङदी हाइड्रोपावरको कस्तो छ त वित्तीय अवस्था ?

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको केन्द्रिय कार्यालयसँगै शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । योग्य आवेदकहरुले फागु २ गतेसम्म कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । 

यस हकप्रद शेयरलाइ इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । बैशाख १५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको लागि निवेदन दिएको कम्पनीलाई बोर्डबाट पुस १ गते स्वीकृति प्राप्त भएको हो । कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाँढी पहिलो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दिर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीको समग्र वित्तिय अवस्था:
हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात यो पूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ । कम्पनीको अधिकृत पूँजी रू. ५० करोड र जारी पूाजी रू. ३८ करोड ६९ लाख ७७ हजार छ । ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । 

यस कम्पनीमा संस्थापक तर्फ हाल ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत स्वामित्व रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ७६ लाख ४० हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिसम्म रू. ४४ लाख ८ हजार थियो । यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट रू. १ करोड ८४ लाख ६८ हजार नाफा आर्जन गरेको छ । 

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १ करोड ७९ लाख २८ हजार छ । चालू आर्थिक वर्षको अन्त्यसम्म रू. ४ करोड ११ लाख खुद नाफा गर्ने प्रक्षेपण कम्पनीले गरेको छ । पहिलो त्रैमाससम्म कम्पनीको कर्जा रकम रू. ७७ करोड १२ लाख ७२ हजार छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १० दशमलव २७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ०२ छ ।

३० प्रतिशत पश्चात फेरी ४० प्रतिशत हकप्रद जारी गर्ने योजना 
कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । थप ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ५४ करोड १७ लाख ६८ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस