
काठमाडौं । भारतसँग खुल्ला सिमानाका कारण अवैध रुपमा औषधिहरु नेपाल भित्रिने गरेको पाइएको छ । यसरी चोरी निकासीबाट आएका औषधिहरु गुणस्तरीय र सुरक्षित नहुने गरेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन् ।
उनी भन्छन्,‘हामीले भन्सारमा निगरानी राखे पनि चोरी निकासी गरी अवैध रुपमा नेपालमा कतिपय औषधिहरु पनि आउने गरेका छन् । तर त्यस्ता औषधिहरु गुणस्तरीय र सुरक्षित नहुनेहुँदा स्वास्थ्यमा समस्या हुने गर्छ ।’
यसरी अवैध रुपमा आएका औषधिहरु भन्सार तिरेर ल्याएका औषधिहरुसँग प्रतिस्थापन गर्न नसकिने उनले बताए । उनले भने,‘अवैध रुपमा धेरैजसो औषधि नेपालमा भारतबाट आउँछ जसका कारण भन्सार तिरेर ल्याएका औषधिहरुसँग प्रतिस्थापन गर्न गाह«ो भइरहेको छ ।’
खुल्ला सिमानाका कारण गैरकानुनी रुपमा औषधि ल्याउनेलाई कारवाही पनि गर्ने गरेको उनले बताए । उनले भने,‘ नेपालमा खुल्ला सिमानाका कारण अवैध रुपमा पनि विभिन्न किसिमका औषधिहरु भित्रिने गरेका छन् । त्यसरी औषधि ल्याउनेलाई जन्मबैद र जरिवाना समेत तिराउने गरेको छौ ।’
उनका अनुसार नेपालमा अहिले १८ हजार ब्राण्ड जेनेरिक औषधिहरु उत्पादन हुने गरेका छन् । जसमा केही औषधिहरु स्वदेशी उत्पादनका हुन्छन् भने केही बाहिरबाट आउने गरेका छन् । उनले भने, ‘नेपालमा भएका १८ हजार ब्राण्ड जेनेरिक औषधिहरु रहेका छन् । जसमा पहिले ४५ प्रतिशत उत्पादन स्वदेशमै हुने गरेको थियो भने ५५ प्रतिशत बाहिरबाट आउने गरेको थियो । तर, अहिले ५० प्रतिशत ब्राण्डका औषधिहरु स्वदेश मै उत्पादन हुने गरेको छ ।’
नेपालमा भ्याक्सिन, क्रिटिकेल केश र आइसीयुका लागि चाहिने औषधिहरु बाहिरबाट आउँने गरेको उनले बताए । उनले भने, ‘नेपालमा पनि धेरै औषधिहरु उत्पादन हुने गरेका छन् । तर, भ्याक्सिन, क्रिटिकेल केश र आइसीयुका लागि चाहिने औषधिहरु भने बाहिरबाट नै आउँछन् ।’
केसीका अनुसार नेपालमा सुगरका लागि आवश्यक पर्ने औषधिहरु बन्ने गरेका छन् । साथै केही सुइजन्य औषधि पनि नेपाल मै बन्न लागेको उनले जानकारी दिए । उनी भन्छन्,‘नेपालमा सुगरका लागि चाहिने औषधिहरु बन्ने गरेका छन् । साथै तीन वटा सुइजन्य औषधि निर्माणमा लागि परेका छौ । तर, भ्याक्सिन, क्रिटिकल केशका औषधिभने बाहिरबाट नै ल्याउनु परेको अवस्था छ ।’
कोरोना महामारीको समयमा केही विशेषज्ञहरुले नेपालमा भ्याक्सिन उत्पादन गर्छौ भन्ने प्रस्तावहरु आएको उनले सुनाए । उनी भन्छन्,‘ कोरोनाको महामारीमा स्वदेशी उद्योग देउराली जनता फर्मास्युटिकल्सले भ्याक्सिन उत्पादन गर्छौं भन्ने प्रस्तावहरु गरेका थिए । पछिल्लो समयमा यसको परिक्षणहरु भइरहेको छ ।’
स्वदेशी उद्योग देउराली जनता फर्मास्युटिकल्सले भ्याक्सिन उत्पादन गर्नका लागि एउटा चाइनिज कम्पनीसँग सम्झौता गरेको उनले बताए । उनले भने, ‘कोरोनाको समयमा स्वदेश मै भ्याक्सिन उत्पादन गर्छौ भनेका औषधि उद्योगले चिनको एउटा कम्पनीसँग सम्झौता गरेको छ । परिक्षण सकिएपछि भ्याक्सिन पनि यही पनि बन्छ ।’
उनका अनुसार सरकारले अत्यावश्क सूचीमा परेका ७८ प्रकारका औषधिहरु निःशुल्क रुपमा वितरण गर्ने गरेको छ । उनी भन्छन्, ‘पहिले सरकारले अस्पताल र स्वास्थ्य चौकीमा औषधिहरु दिने गरेको थियो । तर अहिले स्थानिय तह र प्रदेशहरुले किन्ने गरेका छन् । ज्वरोको औषधि, पारा सिटामोल,जुकाका औषधि आदि निःशुल्क रुपमा वितरण गर्ने गरेको छौं ।’
सरकारी र निजि अस्पतालले अनिवार्य रुपमा आफैले फार्मेसीहरु सञ्चालन गर्ने पर्ने प्रावधान रहेका कारण त्यो नीति सबै अस्पतालहरुले लागू गरेको उनले बताए । उनले भने, ‘सबै सरकारी अस्पतालहरुले आफैले फार्मेसीहरु सञ्चालन गरिरहेका छन् । नीजि अस्पतालहरुले भने अन्य फार्मेसी सँग समन्वय गरेर सञ्चालन गरेका छन् ।’
प्रतिक्रिया दिनुहोस