
काठमाडौं । यातायात व्यवसायीहरूले सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरूले शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको छलफलको क्रममा उक्त सुझाव दिएका हुन् ।
सार्वजनिक सवारी साधन कालो प्लेटको गाडीलाई जोर बिजोर लागु नगर्न सुझाव दिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आर्थिक न्युजलाई बताए । उनले भने, ‘सार्वजनिक सवारी साधनमा सर्वसाधारण जनता चढ्ने हुनाले जोर बिजोर लागु गर्दा सर्वसाधारणलाई यात्रा गर्न असहज हुनुका साथै गाडीमा हुने भिडभाडले झन् सङ्क्रमण फैलिन सक्छ भनेर सुझाव दिएका छौं ।’
निजी सवारी साधनहरु विलासिताको साधन भएकाले नचलाउँदा पनि केही फरक नपर्ने भन्दै उनले सार्वजनिक सवारी साधन भने चलाउन दिनु पर्ने बताए । जोर बिजोर प्रणाली लागु गर्दा ट्राफिकले रसिद मात्रै काट्ने बहाना बन्ने हो की भन्ने उनकाे आशंका छ । ‘यद्यपि सरकारले गरेको निर्णय हामीले मान्ने नै छौं तर पनि हाम्रो सुझाव कालो प्लेटको हकमा यो प्रणाली लागु नहोस् भन्ने नै हो’, सिटौलाले भने।
प्रतिक्रिया दिनुहोस