
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ६ महिनापछि एकै पटक ६ कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । गत साउन १४ गते बुद्धभुमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको आईपीओ स्वीकृतिको प्रकृयाले निरन्तरता पाएको हो ।
बोर्र्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
बलेफि हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण समेतमा कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बोर्डले यो कम्पनीलाई स्थानीयका लागिरू. ३६ करोड ५५ लाख ९४ हजारबराबरको शेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले उक्त शेयर निष्कासन गर्न बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।
त्यस्तै ग्रीन भेन्चरस् लिमिटेडले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०७७ साल फागुन २८ गते बोर्डमा निवेदन दिएको थियो । यो कपनीलाई रु. ६२ करोड ५० लाख बराबरको शेयर स्थानीयका लागि निष्कासन गर्न अनुमति दिइएको छ ।
त्यसैगरी जाल्पा सामुदायिक लघुवित्तलाई रु. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तलाई रु. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न स्वीकृति दिइएको हो । जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २०७८ साल असार २४ गते बोर्डमा निवेदन दिएका थिए ।
नेष्डो लघुवित्तले रु. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार७५०कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । यो कम्पनीले २०७८ असार ६ गते बोर्डमा निवेदन दिएको थियो ।त्यसैगरी इमर्जिङ नेपाललाई रु. ५ करोड ५५ लाख ६० हजार बराबरको ५लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिइएको छ । यो कम्पनीले गत असार १७ गते आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको थियो ।
प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पश्चात पछिल्लो समय आईपीओ निष्कासन भएको छैन् । सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रित्त रहँदा आईपीओ स्वीकृति प्रकृयामा पनि ढिलाई भएको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई सरकारले बुक विल्डिङ्ग बिधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानुनी रुपमा खरिद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो । सो पश्चात बोर्डमा अध्यक्ष पद रित्त रहेको छ ।
प्रतिक्रिया दिनुहोस