aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

युएईमा अलपत्र परेका नेपालीको उद्दार गर्न युएई सरकारको प्रतिबद्धता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ माघ २०७८
युएईमा अलपत्र परेका नेपालीको उद्दार गर्न युएई सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)मा अलपत्र नेपालीका समस्या समाधान गर्न पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफूसँग भेटका लागि पुगेका नेपालका लागि युएईका राजदूत साइद्य हमदान अल नाकीसँग उक्त विषयमा छलफल गरेका हुन ।
 
मन्त्रालयमा आज भएको भेटमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गर्नुभएको मन्त्रालयले जनाएको छ ।
 
अनधिकृतरुपमा मेनपावर कम्पनी, कन्सल्ट्यान्सी, ट्राभल्स सञ्चालक, बिचौलिया  तथा लामो समयदेखि युएइमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीले नै नक्कली मागपत्र बनाउने, झुठो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृत्ति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनीहरुलाई कानूनी दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गरेका थिए ।
 
उनले रोजगारी पाउने आशामा भिजिट भिसामा युएई गई अलपत्र परेकाको समस्याको स्थायी समाधान नहुञ्जेल त्यही रोजगारीका अवसरका लागि सहयोग गर्न आग्रह गरे । अलपत्र परेका नेपालीको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानूनीरुपमा बस्नुपर्ने बाध्यता भएकालाई  आममाफीको लागि पनि मन्त्री श्रेष्ठले अनुरोध गरेका थिए ।
 
राजदूत साइदले युएई गई समस्यामा परेका नेपालीको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको मन्त्रालयले जनाएको छ । उहाँले नक्कली मागपत्र बनाउने, झुठो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने बताए ।––

प्रतिक्रिया दिनुहोस