काठमाडौं । धेरैको भान्सामा च्याउको तरकारी पाक्ने गर्छ । पछिल्लो समय च्याउ खेती गर्नेहरु पनि बढेका छन् । यसको खेती गर्नका लागि धेरै ठाउँ नचाहिने भएकाले यस प्रति कृषकको आकर्षण बढेको हो ।
नेपालमा च्याउ खेतीमा रोजगारीको अवसर पनि बन्दै गएको छ । तर पछिल्लो समयमा भारतबाट आयातित च्याउका कारण नेपालमा उत्पादन भएका च्याउहरुले प्रतिस्पर्धा गर्न गाह्रो भएको च्याउ उत्पादकहरुको गुनासो गरेका छन् ।
बुधबार मात्रै च्याउ उत्पादक किसान संघले विज्ञप्ति जारी गरेरै विदेशबाट आयात हुने च्याउलाई रोक्न माग गरेको छ । अहिले नेपाली बजारमा भारतमा हाइटेक प्रविधिमा उत्पादन भएका र त्यहाँ नबिकेका च्याउहरु नेपाली बजारलाई लक्षित गरी दुई तीन दिनको बाटोमा विषादी मिसाएर ल्याएको पाइएको छ । नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त छ । च्याउ एक ढुसी जन्य पोषण युक्त परिकार हो ।
हिजोआज ग्रामिण क्षेत्रमा भन्दा बढी शहरी क्षेत्रमा बढी च्याउ खेती गरेको पाइन्छ । प्रशस्त जगगा हुनेहरुले गोठ बनाएर व्यवसायिक रुपमा च्याउ खेती गरिरहेका छन् । यता जग्गा नहुनेहरुले भाडामा लिएर भएपनि च्याउ खेती गरिरहेको पाइन्छ । नेपालमा च्याउ खेतीबाट धेरै किसानहरुले रोजगारी समेत पाएको च्याउ उत्पादक संघका केन्द्रीय अध्यक्ष सन्तोष कार्की बताउँछन् ।
उनले नेपालमा आयातित च्याउहरु विषादी मिसाएको भनने आशङका रहेको बताए । उनले भने, ‘बजारमा आएको गोलो च्याउ २४ घण्टामा प्रयोग गर्नुपर्ने हुन्छ । नत्र सड्छ । तर भारतबाट आयात भएका च्याउहरु चार पाँच दिन सम्म पनि नबिग्रे नसड्ने भएकाले बिषादी मिसाएको छ कि भन्ने आशङका रहेको छ ।’
भारतबाट आयात भएको च्याउको गुणस्तर मापन नगरीकन नेपाल भित्राइने गरेको कार्की बताउँछन् । उनी भन्छन्, ‘विदेशबाट आयात गरिएको च्याउमा नसढ्ने केमिकलहरू च्याउमा प्रयोग गरी विषादीयुक्त वनाई अवैध रुपमा च्याउ नेपाली बजारमा पठाईरहेका छन् । ल्याव परिक्षण गरेर मात्र नेपाल भित्रयाउनु पर्छ ।’
विदेशबाट आएको च्याउहरु विषादीयुक्त र गुणस्तरहिन हुने भएकाले नेपाली किसान र यहाँका उपभोक्तालाई जोगाउन भारतबाट आयात हुने च्याउलाई निरुत्साहित गर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘नेपाली उत्पादनले बजार नपाएको भन्दा पनि भारतबाट आएको च्याउ गुणस्तरहिन छ । भारतमा ४० देखि ८० प्रतिशत सम्म हाइटेकको टनेल बनाउने अनुदान छ । नेपालको तुलनाका भारतमा च्याउ उत्पादन गर्ने फार्महरु बनाउन पनि सस्तो हुने हुँदा त्यहाँको उत्पादन पनि सस्तो हुन्छ ।’
नेपालमा च्याउ खेतीमा सरकारको पनि सहयोग नभएको उनले बताए । उनी भन्छन्, ‘किसान कै मेहनतले उत्पादित च्याउले विदेशी च्याउसँग प्रतिस्पर्धा गर्न सक्दैन । भारतको च्याउ उत्पादन लागत नै सस्तो छ । तर नेपालको उत्पादन लागत महँगो पर्न जान्छ । सस्तोमा भारतबाट च्याउ आयात भएपछि नेपाली किसानहरु विस्थापित हुनुपर्ने अवस्था आएको छ ।’
कार्की भन्छन्, ‘सरकारको निति नै सस्तोमा भारतबाट च्याउ आयात गर्नेछ । सरकारको यस्तो नितिका कारण नेपाली उपभोक्ताले विषादि युक्त च्याउ खानुपर्ने अवस्था आएको हो ।’ अब नेपाली किसान, उपभोक्ता र नेपाली उत्पादनलाई जोगाउन भारतबाट आयातित च्याउलाई रोक्नु पर्ने उनको भनाइ छ ।
उनका अनुसार भारतबाट दिनहुँ पाँच हजार केजीको हाराहारीमा च्याउ आउने गरेको छ । च्याउ आयातमा दैनिक नेपालबाट १५ लाख रुपैयाँ भारत जाने गरेको छ । त्यो पैसा रोक्न पनि च्याउ आयातमा रोक लगाउनु पर्छ ।
नेपालमा च्याउ खेतीबाट ५० हजारभन्दा बढीले रोजगारी पाइरहेको उनले बताए । उनले भने, ‘नेपालमा अहिले च्याउ खेतीबाट ५० हजार भन्दा बढीले रोजगारी पाएका छन् । ती कामदारहरु विस्थापित हुनबाट जोगाउन भएपनि सरकारले च्याउ आयातलाई रोक्नु पर्छ ।’
उनका अनुसार नेपाली बजारमा दिनहुँ २० हजार किलो गोलो च्याउको माग हुने गरेको छ । गोलो च्याउमा नेपाल आत्म निर्भर बनिसकेको उनले बताए । बजारको माग अनुसार नेपालमा १५ हजार किलो च्याउ उत्पादन हुन्छ । ५ हजार केजी अपुग हुने गरेको छ । भारतबाट सस्तोमा च्याउ आयात भएपछि प्रतिस्पर्धा गर्न नसकेर किसानहरुले च्याउ उत्पादनमा बेरुची देखाएकाले घट्न पुगेको हो ।
उनी भन्छन्, ‘दुई चार महिना च्याउको अभाव भएपनि असहज हुदैन । छ महिना उपभोक्तालाई गाह्रो हुने हो । भारतबाट सस्तोमा च्याउ आयात भएपछि किसानहरु यो खेती बाट झन् बाहिरिदै गएका छन् ।’
नेपालमा च्याउ उत्पादन गर्न लागत बढी लाग्ने हुँदा विदेशबाट आयातित च्याउसँग प्रतिस्पर्धा गर्न सक्दैन । विदेशी च्याउ आयातमा रोक लगाउने हो भने वर्षदिनमा फेरी नेपाल मै च्याउ उत्पादन गर्न सकिन्छ । किसानको पनि जिविकोपार्जन हुने कार्कीले सुनाए ।
उनका अनुसार व्यवसायिक रुपमा उत्पादन हुने कन्य च्याउ, गोलो च्याउ, राजा च्याउ रहेका छन् । ठूला होटल तथा रेष्टुरेन्टहरुमा उपयोग हुने च्याउ मध्ये कन्य च्याउ नेपाल मै उत्पादन हुने गरेको छ । उनले भने, ‘नेपालमा ठुला होटल तथा रेष्टुरेन्टहरुमा उपयोग हुने च्याउहरु मध्ये कन्य च्याउ नेपाल मै उत्पादन हुन्छ । गोलो च्याउको हकमा भने उनीहरुले ताजा च्याउ नै प्रयोग गर्ने भएकाले भारतबाट आएको च्याउ र बजारमा उपलब्ध भएका नै उपयोग गर्ने गरेका छन् ।’
तर धेरैजसो होटलहरुले भने चीन, भारत थाइल्याण्ड आदि देशहरुबाट ल्याउने गरेको कार्कीले बताए । उनले भने, ‘ठुला होटलहरुमा नेपाली च्याउ धेरै उपभोग भएको छैन । धेरैजसो होटलहरुले भने चीन भारत थाइल्याण्ड आदि देशहरुबाट ल्याउने गरेको छन् ।’
अहिले नेपाली उत्पादनले नै बजारको माग अनुसार प्रतिस्पर्धा गर्न नसकेको उनले दोहोर्याए । उनी भन्छन्, ‘नेपालको उत्पादनले भारतको च्याउसँग नै प्रतिस्पर्धा गर्न नसकेको बेला अन्य देशहरुमा निर्यात गर्ने अवस्था छैन ।’
तर, हिमाली जिल्लामा भएका यार्सागुम्बा, पहाडी भेगमा भएका गुठी च्याउहरु सडेर गइरहेको बेला त्यसलाई भने विदेश निर्यात गर्न सकिने उनले बताए । उनी भन्छन्, ‘व्यवसायिक रुपमा उत्पादन भएको च्याउ विदेश निर्यात गर्न सक्ने अवस्था छैन तर हिमाली जिल्लामा भएका यार्सागुम्बा, पहाडी भेगमा भएका गुठी च्याउहरु सडेर गइरहेको बेला त्यसलाई भने विदेशमा निर्यात गर्न सकिन्छ ।’
चितवनमा उत्पादन हुने म्याजिक च्याउ खोज्न लाखौ खर्च गरेर विदेशीहरु नेपाल आउने गरेको उनले बताए । नेपाललाई च्याउ खेतीमा आत्मनिर्भर बनाउनु पर्नेमा उनले जोड दिएका छन् । कार्की भन्छन्, ‘ हामीले प्रकृति अनुसार च्याउ उत्पादन गनुपर्ने हुन्छ । नेपाली किसानको मेहनत र परम्परागत शैलीमा नै च्याउ उत्पादन भइरहेको छ । आधुनिक प्रविधि र कच्चा पदार्थहरु भित्र्याउन सरकारको सहयोग चाहिन्छ ।’
प्रतिक्रिया दिनुहोस