aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बीमा क्षेत्रमा कोरोना कहर: सेवा प्रवाह प्रभावित, फितलो सफ्टवेयरका कारण समस्या

  • बिजय फुयाँल
    बिजय फुयाँल
  • शुक्रबार, १४ माघ २०७८
बीमा क्षेत्रमा कोरोना कहर: सेवा प्रवाह प्रभावित, फितलो सफ्टवेयरका कारण समस्या

काठमाडौं । नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिएसँगै दैनिक १० हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय धेरैजसो सक्रिय वर्गमा कोरोना सङ्क्रमण भइरहेको छ । त्यसमध्ये पनि विभिन्न क्षेत्रमा आबद्ध कर्मचारीहरू कोरोना सङ्क्रमणको सिकार भएका छन् । जसले गर्दा विभिन्न सेवा प्रभावित बन्न पुगेको छ । यससँगै बीमा क्षेत्रमा आबद्ध कर्मचारीहरूमा कोरोना भाइरसको सङ्क्रमण हुन थालेपछि बीमा सेवा पनि प्रभावित बनेको छ । धेरै कर्मचारीहरूमा कोरोना सङ्क्रमण भएका कारण सेवा प्रवाह प्रभावित बनेको हो ।   

पछिल्लो समय सरदर दैनिक १० देखि १५ जनासम्म बीमा क्षेत्रमा आबद्ध कर्मचारीहरूमा कोरोना सङ्क्रमण भइरहेका नेपाल बीमक संघ (एनआइए)का महासचिव तथा नेको इन्स्योरेन्सका सिईओ अशोक कुमार खड्का बताउँछन् । उनी भन्छन्, ‘बीमा क्षेत्रमा आबद्ध दैनिक १० देखि १५ जनासम्म कर्मचारीहरूमा कोरोना सङ्क्रमण भएको पाइएको छ । तर, कोरोनाका कारण कार्यालयहरू बन्द नै गर्नु पर्ने स्थिति भने आएको छैन ।’ 

बैंकहरुसँग प्रत्यक्ष जोडिएर काम गर्नु पर्ने भएकाले यो बिचमा बैंकरहरुमा सङ्क्रमण भएकाले व्यवसायमा ठुलो प्रभाव पारेको बताउँदै उनले भने, ‘बीमाका शाखामा धेरै कर्मचारी नहुने हुनाले एउटालाई कोभिड पोजेटिभ देखिने बित्तिकै अन्य कर्मचारी आइसलेसनमा बसेका कारण शाखा खोल्ने कुरामा खासै समस्या देखिएन। जति कर्मचारी छन् त्यसको आधा उपस्थित भएर पनि कार्यालय खोलिएको छ ।’

कोरोना सङ्क्रमणका कारण शाखा नै बन्द गर्नु पर्ने अवस्था जीवन बीमा कम्पनीमा पनि नआएको जीवन बीमक संघका अध्यक्ष तथा मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार श्रेष्ठले बताए। ‘इन्स्योरेन्स व्यवसायको  पहिलो प्राथमिकता भनेकै प्रत्यक्ष  भेटेर कुरा गर्नु पर्ने हुन्छ। तर, कोरोना सङ्क्रमणका कारण हाम्रोमा केही पोलिसिहरु अनलाइन मार्फत पनि बिक्री गर्न सकिने व्यवस्था  गरेको छौ’, अध्यक्ष श्रेष्ठले भने , ‘विगतको अनुभवले धेरै कुरा सिकाएको छ । अहिले जीवन बीमा कम्पनीमा धेरैले अनलाइनबाट सेवा दिने व्यवस्था गरेका छन् । मोबाइल एप मार्फत पनि ग्राहकहरूलाई सेवा दिइरहेका छौँ। प्रिमियम तिर्नेदेखि बिमितले गर्ने दाबी भुक्तानी समेत अनलाइन मार्फत सजिलै सेवा दिइरहेका छौँ ।’  

पछिल्लो समय अनलाइन प्रिमियम सङ्कलन २५ प्रतिशतको हाराहारीमा रहेको अध्यक्ष श्रेष्ठले दाबी गरे।  उनले भने, ‘सुरुवाती चरणमा अनलाइन मार्फत ५ प्रतिशतको हाराहारीमा मात्रै सङ्कलन हुने गरेकोमा कोभिड सुरु भए यता अनलाइन मार्फत भुक्तानी गर्नेको सङ्ख्या बढेको छ। अहिले सजिलै अनलाइन मार्फत लाइभ  कुराकानी गरी डकुमेन्ट समिट गरी  सजिलै पोलिसी खरिद गर्न सकिने व्यवस्था रहेको छ ।’ साथै मेट लाइफमा यस्तो व्यवस्था रहेको र अन्य कम्पनीहरूले पनि पूर्ण डिजीटलाइज हुने बाटोमा अघि बढेको उनले जिकिर गरे । अहिले बजारमा भइरहेको तरलता अभावको कारण  बीमा क्षेत्रमा ठूलो प्रभाव परेको समेत उनको भनाई छ ।  

सरकारले कोरोना महामारी नियन्त्रणको लागि भन्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ । वित्तीय क्षेत्रहरूमा भरसक डिजिटल माध्यमबाट कारोबार गर्न अनुरोध समेत गरिएको छ । गत वर्ष लकडाउनदेखि नै अधिकांश संघ संस्थाहरूले आफ्ना सेवालाई बढी भन्दा बढी डिजीटलाइज गर्दै लगेका छन्। तर, विडम्बना नेपालमा रहेका निर्जीवन बीमा कम्पनीले भने आफूलाई पूर्ण रूपमा डिजीटलाइज गर्न सकिरहेका छैनन् ।  

नयाँ प्रविधिको विकास गर्दै ग्राहकलाई अनलाइन मार्फत सेवा दिनु पर्ने अवस्थामा इन्स्योरेन्स कम्पनीहरू भने पुरानै सफ्टवेयरमा रुमल्लिइरहेका छन्। निर्जीवन बीमा कम्पनीले प्रयोग गरिरहेको सफ्टवेयर फितलो भएका कारण ग्राहकहरूलाई इन्स्योरेन्सको अन्तर्राष्ट्रिय अभ्यासअनुसारको सेवा दिन नसकेको निर्जीवन बीमा कम्पनीका सिईओहरु स्वीकार्छन् ।     

नेपालमा इन्स्योरेन्स कम्पनीलाई  छनोट गर्ने राम्रो सफ्टवेयर कम्पनी नभएका कारण काम गर्न कठिनाइ भएको नेपाल बीमक संघका महासचिव तथा नेको इन्स्योरेन्सका सिईओ खड्का बताउँछन् । उनी भन्छन्, ‘यस्तो असहज परिस्थितिमा पनि डिजिटल माध्यमबाट ग्राहकलाई सेवा दिनका लागि भरपर्दो सफ्टवेयर नभएका कारण  प्रभावकारी सेवा दिन सकिरहेका छैनौँ । बैंकको सिस्टम प्रोभाइडर एउटा भएन भने अर्को हुन्छ । तर, इन्स्योरेन्स कम्पनीमा एउटा मात्रै सफ्टवेयर छ। कोर सफ्टवेयरमै सेवा दिन सकिरहेको छैन । कोर सफ्टवेयर मै सेवा दिन नसकिरहेको बेला फुल डिजिटलाइज्डको आशा गर्ने ठाउँ पनि भएन ।’ 

फितलो सफ्टवेयरका कारण ग्राहकलाई सेवा दिन कठिनाइ भएकोबारे बीमा समितिका अध्यक्षलाई भेटेर जानकारी गराएको समेत खड्काले बताए। ‘आज तपाइको गाडी नवीकरण गर्नका लागि मोबाइलबाटै सबै काम हुने भए पो डिजिटलाइज्ड त ? तर तपाईँ शाखामा आएर फारम भर्नु पर्ने भो भने त्यो डिजिटलाइज्ड भएन  नि। इमेल मात्रै डीजिटलाइजेसन होइन नि ?’, महासचिव  खड्काले भने, ‘यसका बाबजुद पनि हामीले इमेल मार्फत काम गरिरहेका छौँ।’  

राम्रो सफ्टवेयर नभएकै कारणले दाबीबाट आउने डकुमेन्टेसनको डीजिटलाइजेसनमा समस्या रहेको अर्का एक बीमा कम्पनीका सिईओ बताउँछन् । उनी भन्छन्, ‘डिजिटलाइज्ड भन्नाले बीमितले कम्प्युटरबाटै बीमा पोलिसि खरिद गर्न र अन्तिममा बिमाङ्क समेत त्यसैबाटै पाउनु हो । तर, फितलो सफ्टवेयरका कारण बीमितले अनलाइनबाट पोलिसी मात्रै खरिद गर्न सक्छ । दाबी भुक्तानीको लागि भने कम्पनी नै धाउनु पर्ने बाध्यात्मक अवस्था छ।’ 

प्रतिक्रिया दिनुहोस