
काठमाडौं । सरकारले ट्याक्सी र निजी सवारी साधन बाहेकमा जोरविजोर प्रणाली हटाएको छ । शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाइएको हो ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो । तर, केहि दिनदेखि सार्वजनिक सवारी साधनमा सर्वसारणको भिड अत्यधिक बढेपछि कोरोनो संक्रमण झन फैलने डर देखिएको थियो ।
सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो ।
त्यस्तै, विद्यालय, विश्वविद्यालयको भौतिक कक्षा माघ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको थियो। शिक्षण सिकाइलाई भने भर्चुअल रुपमा जारी राख्ने निर्णय बैठकले गरेको छ।
साथै औषधि तथा स्वास्थ्य तथा सरसफाइका सवारी साधन, ग्यास र पेट्रोल ढुवानी गर्ने सवारी साधन, बैंक, बीमा तथा वित्तीय संस्था, वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू हुने छैन ।
प्रतिक्रिया दिनुहोस