
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७६÷७७ को लागि बीमालेखको बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले चार किसिमका बीमालेखहरुमा प्रतिहजार न्यूनतम रू. ५६ देखि अधिकतम रू. ८२ सम्म बोनस दर दिने घोषणा गरेको हो । कम्पनीले उक्त आर्थिक वर्षको आर्थिक स्थितिको लेखा जोखा र दायित्व मूल्याङ्क सम्बन्धी बामाङ्कीय प्रतिवेदन बीमा समितिबाट माघ १३ गते स्वीकृति गराई सकेको समेत जानकारी दिएको छ । कम्पनीले जारी गरेको सावधिक बीमामा १० वर्षदेखि ३० वर्षभन्दा माथीसम्मको योजना रहेको छ ।
यस योजनामा कम्पनीले न्यूनतम प्रतिहजार रू. ६० देखि अधिकतम प्रतिहजार रू. ८२ सम्मको बोनस दर निर्धारण गरेको छ । यो सँगै सावधिक तथा आजीवन बीमामा पनि कम्पनीले न्यूनतम प्रतिहजार रू. ६० देखि अधिकतम प्रतिहजार रू. ८२ वार्षिक बोनस दर निर्धारण गरेको छ । , अग्रिम भुक्तानी बीमामा न्यूनतम प्रतिहजार रू. ५६ देखि अधिकतम प्रतिहजार रू. ५८ का दरले बोनस वितरण गर्ने घोषण कम्पनीले गरेको हो । अग्रिम भुक्तानी सावधिक बीमामा भने कम्पनीले एउटै मूल्य अर्थात प्रतिहजार रू. ६० का दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीका अनुसार सावधिक बीमा अन्तर्गत १० वर्ष बीमा अवधि भएको ३९ हजार ८४६ बीमालेख रहेको छ भने ११ वर्षदेखि १५ वर्षसम्मको बीमालेख २ लाख ७४ हजार ९८७ रहेको छ । त्यस्तै सावधिक बीमालेख अन्तर्गतनै १६ वर्षदेखि २० वर्षसम्मको १ लाख २७ हजार ६६२, २१ देखि २५ वर्षसम्मको १८ हजार ९९१ र २६ देखि ३० वर्षसम्मको २ हजार ३५८ बीमालेख रहेको छ । ३० वर्षभन्दा माथीको अवधिका लागि भने ६७५ बीमालेख जारी भएको कम्पनीको भनाई छ । सावधिक बीमा अन्तर्गत २० वर्ष अवधिसम्मका लागि प्रतिहजार रू. ६०, २५ वर्ष अवधिका लागि प्रतिहजार रू. ७० र ३० वर्षभन्दा माथीका लागि प्रतिहजार रू. ८२ बोनस दर निर्धारण गरिएको छ । यो बीमालेख सुरक्षित जीवन, जीवन ज्योति , ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन साथीको नाममा जारी गरिएको कम्पनीको भनाई छ ।
कम्पनीले जारी गरेको सावधिक तथा आजीवन बीमालेख १० वर्षसम्मका लागि ४ हजार ९९३, ११ देखि १५ वर्षसम्मका लागि ९२ हजार ३५९, १६ देखि २० वर्षसम्मका लागि २६ हजार १०१, २१ देखि २५ वर्षसम्मका लागि १० हजार ७०० , २६ देखि ३० सम्मका लागि १ हजार ४१८ र ३० वर्षभन्दा माथीका लागि ४६ ओटा जारी भएका छन् । यसमा पनि २० वर्षसम्म अवधि भएको बीमालेखमा प्रतिहजार रू. ६० , २५ वर्ष अवधि भएका बीमालेखको लागि प्रतिहजार रू. ७० र ३० वर्षभन्दा माथी अवधिका बीमालेखमा प्रतिहजार रू. ८२ बोनस दर निर्धारण गरिएको छ ।
अग्रिम भुक्तानी बीमालेख योजना भने १५ र २० वर्षे अवधिको रहेको छ । १५ वर्षे अवधिको योजना ४२ हजार ७९२ ओटा र २० वर्षे योजना ५ हजार ९२४ ओटा जारी भएका छन् । कम्पनीले अग्रिम भुक्तानी बीमालेखमा १५ वर्षे अवधिको लागि प्रतिहजार रू. ५६ र २० वर्षे अवधिको लागि प्रतिहजार रू. ५८ बोनस दर निर्धारण गरेको छ । अग्रिम भुक्तानी सावधिक बीमालेख भने १० वर्षे अवधिको लागि ७४८, ११ देखि १५ वर्षका लागि ५६ हजार ३५, १६ देखि २० वर्षका लागि १२ हजार ८९० र २१ देखि २५ वर्षका लागि ३०३ बीमालेख जारी भएका छन् । यस बीमालेखका बिमितहरुले एउटै अनुपातमा प्रतिहजार रू. ६० का दरले बोनस शेयर पाउने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस