aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मनोरञ्जन भित्र लुकेको पिडा: ‘चलचित्र उद्योगी पलायन हुने स्थिति आयो, राज्यले हेरेन’

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • सोमबार, १७ माघ २०७८
मनोरञ्जन भित्र लुकेको पिडा: ‘चलचित्र उद्योगी पलायन हुने स्थिति आयो, राज्यले हेरेन’

काठमाडौं । कोरोना महामारीका कारण धरासयी बन्दै गएको चलचित्र क्षेत्र झन् खस्किदै गएको छ । सरकारले कोरोना महामारी बढ्दै गएपछि सार्वजनिक स्थलसँगै  सिनेमा हल पनि बन्द गरेपछि चलचित्र उद्योग क्षेत्र झन् मारमा परेको हो ।     

बिस्तारै चलायमान हुन लागेका सिनेमा हलहरु फेरी बन्द भएका छन् । यसअघिको लकडाउनले सुस्ताएको यो क्षेत्र सरकारले स्मार्ट लकडाउनको सुरुवात गरेपछि झन् दयनीय अवस्थामा रहेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान बताउँछन् ।       

उनी भन्छन्, ‘नेपाली चलचित्र पनि हलमा लाग्न थालेपछि सरकारले फेरी स्मार्ट लकडाउन भनेर सिनेमा हलहरू नै बन्द गरिदियो । फेरी कहिले खुल्छ थाहा छैन । फिल्म चलेकै छैन । हलिउड र बलिउडका फिल्म लागेका बेला केही मानिसहरू आएका थिए । अब झनै दयनीय अवस्था बनेको छ ।’

यसअघिको लकडाउनमा फिल्म उद्योग क्षेत्रले सरकारबाट केही राहत नपाएको उनले गुनासो गरे । उनले भने, ‘फिल्म क्षेत्र झन् सुस्ताएको छ । पहिलेको लकडाउनमा पनि सरकारबाट केही राहत पाइएन ।’

सहयोगका लागि सम्बन्धित ठाउँमा आफ्नो कुराहरू राखे पनि कतैबाट पहल नभएको उनले सुनाए । उनले भने, ‘सिनेमा हल नचलेको समयको बत्तीको पैसा, अन्य क्षेत्रहरूलाई पनि छुट दिएकाले गर्दा त्यो सुविधा हामीले पनि पाउनु पर्छ भनेर माग राखेका थियौ ।’  

अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय र प्रधानमन्त्रीलाई पनि ज्ञापन पत्र बुझाएकोमा उनीहरूले हेर्छौ भने पनि अहिलेसम्म कुनै निकास भने ननिस्केको उनी बताउँछन् ।  उक्त समयमा बैंकहरुमा पनि ब्याज छुट गरिदिन र समय सीमा बढाइदिन आग्रह गरेको उनले सुनाए । बैंकहरुले एक वर्ष २०७८ पुससम्म ब्याज तिर्नका लागि समय बढाइदिए पनि व्यापार व्यवसाय ठप्प भएका कारण ब्याज तिर्न कठिन भएको उनको गुनासो छ ।  

अध्यक्ष प्रधानका अनुसार तीन वर्षको अवधिमा करिब एक अर्ब ८० करोड रुपैयाँ लगानीका ४० वटा फिल्महरू अझै सञ्चालन हुन सकेका छैनन् । चलचित्र उद्योग नै ठप्प हुँदै गएपछि कलाकर्मीहरू पलायन हुनु पर्ने स्थिति आएको बेलामा राज्यले हेर्नुपर्ने हो । तर, राज्यले अहिलेसम्म हेरेन ।  

उनी भन्छन्, ‘हामी एक साधारण नागरिक नै हौ । हामीले आफ्नो घर जग्गा बैंकमा राखेर ऋणमा डुबेर कारोबार गरेका हुन्छौँ । सरकारले फिल्म क्षेत्रमा आबद्ध भएकाहरुलाई विभिन्न सहुलियत सहित कम्तीमा पाँच वर्षसम्म छुट गरिदिए सहज हुने थियो । यसो गरेमा फिल्म क्षेत्रलाई केही राहत मिल्थ्यो ।’ 

फिल्मकर्मीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने प्रधानको भनाई छ । उनी भन्छन्, ‘ सरकारले केही सहुलियत दिन सकेमा मात्र फिल्म बन्छ कलाकार प्राविधिक सबैले काम पाउँछन् । सरकारले यस क्षेत्रमा सहुलियत नदिए प्राविधिक मात्र हैन हामी नै पलाउन हुने अवस्था आउँछ ।’  

कोरोना महामारीको असर चलचित्र क्षेत्रलाई मात्र नभएर सिङ्गो देशलाई नै असर पारेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् । उनी भन्छन्, ‘चलचित्र क्षेत्रमा मात्र हैन अन्य क्षेत्रलाई पनि असर परेको छ । तर सबैभन्दा बढी फिल्म उद्योगलाई पर्‍यो । नयाँ चलचित्र बनाउनलाई त सुरुवात गरेका छैनौ । बनेर बसेका चलचित्रहरू पनि चार चरणमा रहेका छन् ।’ 

उनका अनुसार केही चलचित्रहरू छायाङ्कन सकेर रोकिएका, कोही पोस्ट प्रोडक्शनमा रहेका, केही सिनेमा सेन्सर गरेर बसेका छन् भने केही सिनेमा रिलिजका लागि समय लिएर दुई वर्ष देखि रोकिएका छन् । यस्ता चलचित्रहरू लगभग ८५ वटा जति रहेको छन् ।   

अधिकारी भन्छन्, ‘यो दुई वर्षको अवधिमा २८ वटा सिनेमाहरू रिलिजका लागि बसेका थिए । जसमध्ये ३ वटा सिनेमा रिलिज भए २५ वटा रिलिजको तयारीमा रहेका छन् । कोही पोस्ट प्रोडक्शनमा छन् केही सिनेमा सेन्सर लिएर बसेका छन् । कतिपय सिनेमाहरू आधा सुटिङ सकेर बसेका छन् ।’ 

झन्डै १ अर्ब ५५ करोडको लगानी रहेका ८५ सिनेमा आधा काम सकेर निर्माणमा रहेको आँकडा निकालेको उनले बताए । सिनेमा निर्माण गर्न त्यति सहज नहुने गरेको र धेरै जसो निर्माण कर्मीले बैंकबाट ऋण लिएर फिल्ममा लगानी गरेको अधिकारी बताउँछन् । उनी भन्छन्, ‘बैंकले सिनेमा निर्माण गर्न ऋण दिँदैन, हाउजिङ ऋण र व्यवसायिक ऋण भनेर ऋण लिएर फिल्म बनाएका छन् । सिनेमा निर्माण गर्न त्यति सजिलो छैन ।’  

सरकारले २० प्रतिशत थप ऋण दिने र ५ प्रतिशत ब्याज छुट दिने कुरा ल्याए पनि त्यसमा सिनेमा क्षेत्र नपरेको उनले गुनासो गरे । उनले भने, ‘सरकारले लगानी गर्नेहरूका लागि दिएको सुविधामा सिनेमा क्षेत्र परेन । सिनेमा क्षेत्रले प्रोजेक्ट लोन पाएकै छैन । हाउजिङ लोन लाई पनि त्यो सुविधा आएन, व्यावसायिक र अन्य घरायसी लोनलाई पनि त्यो सुविधा आएन जसले गर्दा चलचित्र अहिले सिङ्गो बैकिङ लोनको पनि मारमा परेको छ ।’   

केही समयदेखि ठप्प रहेको सिनेमा हलमा चपली हाइट ३ चल्न थालेपछि चलचित्र क्षेत्र चलायमान होला भन्ने आशा लागे पनि सरकारले पूर्व जानकारी विना स्मार्ट लकडाउनको घोषणा गरेपछि झन् निराश हुन परेको उनी बताउँछन् । उनले भने, ‘सरकारले विना पूर्व जानकारी स्मार्ट लकडाउन गरिदियो । बन्द हुन सक्छ है मात्र भनिदिएको भए पनि हलमा फिल्म लगाउने थिएनौँ । डेढ करोड लगानी लागेको चलचित्र चपली हाइट ३ झन् प्रत्यक्ष मारमा पर्‍यो ।’ 

फिल्म क्षेत्र धरासयीमा पुगेमा राज्यले पनि ठुलो क्षति बेहोर्ने उनले बताए । अधिकारी भन्छन्,‘फिल्म क्षेत्र ठप्प छ । चलचित्रकर्मी, प्राविधिक निर्माण पक्ष, निर्देशन पक्ष, दक्ष व्यक्तिहरू गुमाउँछौ कि भन्ने चिन्तामा छौ । फिल्म क्षेत्र धरासयीमा पुगेमा राज्यले पनि ठुलो क्षति बेहोर्ने छ ।’

फिल्म क्षेत्र पैसा कमाउने मात्र मनोरञ्जनको क्षेत्र मात्र नभएर सिङ्गो कला संस्कृति भेषभुषा र सभ्यतालाई पनि जोगाउने क्षेत्र भएको अधिकारी बताउँछन् । उनी भन्छन्, ‘चलचित्र उद्योग मनोरञ्जन र पैसा कमाउने क्षेत्र मात्र नभएर राज्यको चिनारी पनि हो । यो क्षेत्र यसरी धरासयी बन्दै गएपछि भोलि राज्यको चिनारी के ले गर्ला भन्ने स्थिति आउँछ ।’  

म्युजिक भिडियो एउटा गुजारा गर्ने मात्र ठाउँ हो भएकाले यसले चलचित्र उद्योगको क्षेत्रलाई समेट्न नसक्ने उनले बताए । उनले भने, ‘दुई जना कलाकारले म्युजिक भिडियोबाट गुजारा गर्दा ८ जना प्राविधिकहरुको पनि गुजारा चलेको छ । तर सिङ्गो फिल्म क्षेत्रलाई त्यसले ले समेट्न सक्दैन ।

केही चलचित्रकर्मीहरू म्युजिक भिडियोमा गएका भए पनि सबै निर्माता र निर्देशक म्युजिक भिडियोमा नगएको उनले जानकारी दिए । उनले भने, ‘म्युजिक भिडियोले फिल्म कर्मीहरूको गुजारा चल्दैन । सबै निर्माता र निर्देशक अझै पर्ख र हेर को अवस्थामा नै छन् । उनीहरू कहिले समय आउला र सिनेमा निर्माण गरौला भनेर बसेका छन् ।’

उनका अनुसार म्युजिक भिडियोहरू केहीले समय बिताउनका लागि गरेका छन् भने केहीले गुजारा गर्न लागि पनि गर्ने गरेका छन् । त्यतिले मात्र फिल्म उद्योग चल्दैन । अधिकारी भन्छन्, ‘कोरोनाको  असर सबैभन्दा बढी निर्मातालाई परेको छ भने त्यसपछि सिनेमा हलहरूमा परेको छ । उनीहरूले पनि ऋण लिएर लगानी गरेको छन् । निर्माताका लागि फिल्म भनेको एक समयको कमाइ हो ।’ 

कतिपय निर्माताहरू लगानी डुब्ने डरले फिल्म रिलिज गर्न डराएर बसेको उनले जानकारी दिए । उनले भने, ‘अहिले धेरै जसो निर्माताहरू लगानी डुब्ने डरले फिल्म रिलिज गर्न डराएर बसेका छन् । निर्माता डराएर बसे फिल्म दिने सकेनन् भन्ने कुरा पनि आएका छन् । पोष्टरको पैसा उठ्दैन त्यसको लगानी कसले व्यहोर्ने ।’

निर्माता बचे मात्र यो चलचित्र उद्योग बच्ने उनले दाबी गरे । उनी भन्छन्, ‘सबैभन्दा ठुलो जोखिम निर्माताहरुलाई परेको छ । निर्माता बचे मात्र यो क्षेत्र बच्छ निर्माताले फिल्म निर्माण गरे मात्र कलाकार, प्राविधिक, सिनेमा भवनहरू चल्छन् । त्यसैले निर्माता बचाउन राज्यले राहतको प्याकेज नल्याएमा नेपालको फिल्म क्षेत्र ठुलो मारमा पर्नेछ ।’ 

यता फिल्म क्षेत्र मात्रै हैन सङ्गीत क्षेत्र पनि कोरोनाका महामारीको चपेटामा परेको नेपाल सङ्गीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर बताउँछन् । उनी भन्छन्, ‘सङ्गीत क्षेत्रमा भौतिक उपस्थिति छदै छैन । अहिलेको व्यापार सिआरबिटी र पीआरबिटी नै हो । त्यो पनि खस्किरहेको छ । डिजिटलाइज भएपछि थोरै राहत मिलेको छ नत्र अरू व्यापार ठप्प नै रहेको छ ।’ 

उनका अनुसार डिजिटल प्रणाली आएसँगै विभिन्न ठाउँमा यसको पहुँच पुगेको छ । कुनै एउटै गितले करोडौँ पनि कमाएका छन् । कुनै चलचित्रको पैसा चलेको एउटा गितले उठाएको छ । यसले गर्दा सङ्गीतको भविष्य उज्ज्वल रहेको उनले बताए । उनले भने, ‘पहिलेको तुलनामा अहिले गीत रिलिज हुने बित्तिकै विश्व बजारमा पुग्छ । डिजिटलाइज भएपछि सङ्गीत क्षेत्रको  भविष्य अझै उज्ज्वल भएको छ ।’

आयस्रोतको हिसाबले हेर्दा सबैको पहुँच पुग्न नसकेको उनी बताउँछन् । उनले भने, ‘डिजिटलाइज भएपछि पहुँच हुनेले कमाएका छन् । तर आयस्रोतको हिसाबले हेर्दा सबैको पहुँच पुग्न सकेको छैन । युट्युबमा हाल्ने बाहेक अन्य स्रोत भेटिएको छैन ।’

यसअघिको लकडाउनमा भ्युअर्सहरु झन् धेरै थपिएको उनी बताउँछन् । उनी भन्छन्, ‘सबै जना घरमा बसेर गीत सङ्गीत सुन्ने हेर्ने मात्र भए । सङ्गीत क्षेत्रलाई फाइदा नै भयो ।’ तर स्टेज कार्यक्रम र देश विदेशमा हुने कार्यक्रममा सहभागी भएर गुजारा गरेका कलाकारहरूलाई भने समस्या भएको उनले बताए । उद्योग वाणिज्य महासंघसँग पहल गरेर यसअघिको लकडाउनमा करिब २ सय जति संगितकर्मीहरुलाई राहत वितरण पनि गरेको उनले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस