
काठमाडौं । केहि हप्ता यता व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । पसलैपिच्छे चिनीको मूल्य फरक फरक रहेको पाइएको छ । केहि हप्ता अघिसम्म बढीमा प्रतिकिलो ९५ रुपैयाँमा पाइरहेको चिनीको मूल्य अहिले प्रतिकिलो एक सय रुपैयाँदेखि एक सय १० रुपैयाँसम्म पुगेको हो ।
बिनाकारण चिनीको मूल्य अकासिएको छ । एक केजी चिनीको मूल्य कतै एक सय रुपैयाँ छ भने कतै एक सय १० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्रचार्यले चिनीको मूल्य बढेको स्विकारे । उनले भने, ‘यसअघि चिनी प्रतिकिलो ८५/९५ रुपैयाँमा बेचिएको थियो । अहिले होलसेलमै मूल्य बढेकोले खुद्रा व्यापारीले पनि मूल्य बढाएर बेच्न बाध्य भएका छन् । अहिले चिनी प्रतिकिलो एक सय रुपैयाँसम्म पुगेको छ ।’
निवर्तमान अध्यक्ष बज्रचार्यले खुद्रा व्यापारीलाई खरिदमूल्य नै अहिले महँगो पर्न गएको बताउँछन् । उनी भन्छन्, ‘चिनीको मूल्यमा साना व्यापारीले भन्दा पनि ठूला व्यापारीले नै मूल्य बढाएर मनपरि गरिरहेका छन् । जसले गर्दा अहिले बजारमा चिनीको मूल्य फरक फरक पर्न गएको छ ।’ साथै उनले ठूला व्यापारी र उद्योगीहरूका कारण चिनीको मूल्य अनियन्त्रित भएको दाबी गरे ।
त्यस्तै, उनले अहिले साना व्यापारीले होलसेलमै चिनी प्रतिकेजी ९२ देखि ९५ रुपैयाँ सम्ममा खरिद गर्नु परेको बताए । उनले भने, ‘होलसेल बजारमा चिनीको मूल्यमा एकरुपता छैन । होलसेलमै फरक फरक मूल्यमा चिनी बिक्री भइरहेको छ । जसका कारण खुद्रा पसलहरुमा चिनीको मूल्य फरक फरक पर्न गएको हो ।’
बजारमा चिनीको मूल्य बढेपनि उद्योगीहरूले मूल्य नबढाएको नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवाल दाबी गर्छन् । होलसेल र खुद्रा व्यापारीले मात्र मूल्य बढाएको दाबी गर्दै उनले भने, ‘उखुको मूल्य बढेको छ, त्यससंगै ढुवानी, ज्यालाको मूल्य पनि बढेको छ । जसले गर्दा अहिले चिनीको लागत मूल्य बढ्न गएको छ । तर, हामीले लागत मूल्य बढेपनि अहिले चिनीको मूल्य बढाएका छैनौं ।’
त्यस्तै, उनले उद्योगको उत्पादन अनुसार बजारमा चिनीको मूल्य बढीमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने दाबी गरे । उनले भने, ‘चिनीको मूल्यमा मनपरि हुनुमा व्यापारीको दोष रहेको छ । उद्योगको उत्पादन अनुसार चिनीको मूल्य बढीमा ९५ रुपैयाँ पर्नु पर्ने हो । तर, एक सय देखि एक सय १० रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको छ भने यसमा हाम्रो दोष होइन ।’
त्यस्तै, उनले खाद्यान्नको तुलनामा चिनीको मूल्यमा समायोजन हुन नसकेको गुनासो गरे । अध्यक्ष अग्रवालले भने, ‘खाद्यान्नदेखि तेल, तरकारी समेतको मूल्यमा वृद्धि भएको छ । खाद्यान्नको तुलनामा चिनीको मूल्यमा वृद्धि हुन सकेको छैन । चिनीको लागतमूल्य दिनानुदिन बढ्दै गएको छ । तर, लागत मूल्यको आधारमा चिनीको मूल्यमा समायोजन हुन सकेको छैन ।’
चिनीको मुल्यवृद्धिबारे अनुगमन भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी हरि पंगेनी बताउँछन् । उनी भन्छन्, ‘चिनीको मूल्यमा मनपरि भएको भन्ने गुनासोका आधारमा हामीले अनुगमन गरिहेका छौं । बढी मूल्य लिएकालाई कारबाही गर्छौ ।’
साथै उनले बजार अनुगमन गर्दा चिनीको मूल्य एक सय रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको बताए । उनले भने, ‘हामीले बजार अनुगमन गर्दा चिनीको मूल्य प्रतिकिलो एक सय रुपैयाँसम्म लिएको पाएका छौं । यो मूल्य भनेको सामान्य हो । किनभने अहिले उखुको मूल्य पनि बढेको छ । जसले गर्दा चिनीको लागत मूल्य बढेको हुनसक्छ । लागत मूल्यका आधारमा चिनीको मूल्य बढेको हुनसक्छ । तर, यसबारे विभागले थप अनुसन्धान गरिरहेको छ ।’
प्रतिक्रिया दिनुहोस