aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बिहिबार शिखर इन्स्योरेन्सको २६ करोड ८० लाखको शेयर कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० माघ २०७८
बिहिबार शिखर इन्स्योरेन्सको २६ करोड ८० लाखको शेयर कारोबार

काठमाडौं । ३० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको रू. २६ करोड ८० लाख ६८ हजार बराबरको १ लाख ३४ हजार ४५२ कित्ता शेयर कारोबार भएको छ । ६० दिनभित्रको कारोबारमा बिहीवारनै कम्पनीको सर्वाधिक रकमको शेयर खरिद विक्री भएको हो । कारोबार रकम बढेको यो दिन कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ११ ले घटेर अन्तिम मूल्य रू. १ हजार ९८६ कायम भएको छ ।

हालसम्म हकप्रद शेयर निष्कासनको मिति तय नगरेको कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि माघ २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले माघ ६ गते हकप्रद शेयर निष्कासनको लागि कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिईसकेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख २४ हजारको आधारमा १० बराबर ३ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो । सो अनुपातको आधारमा कम्पनीले रू. ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ । 

२०६१ साल कात्तिक २६ गतेदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले तेस्रो पटक हकप्रद शेयर विक्री गर्न लागेको हो । यस अघि २०७० साल चैतमा ५० प्रतिशत र २०७६ साल चैतमा पनि कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले पहिलो पटक रू. १७ करोड ५० लाख चुक्तापूँजीको अधारमा ५० प्रतिशत र दोस्रो चरणमा रू. १ अर्ब ५ करोड ७३ लाख १० हजारको आधारमा ३० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस