aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

१० जलविद्युत कम्पनीहरुमध्ये चिलिमेले कमायो सर्वाधिक नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० माघ २०७८
१० जलविद्युत कम्पनीहरुमध्ये चिलिमेले कमायो सर्वाधिक नाफा

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत ४५ जलविद्युत कम्पनीहरुमध्य हालसम्म १० कम्पनीहरुले मात्र दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

हालसम्म चिलिमे जलविद्युत कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, रूरू जलविद्युत परियोजना लिमिटेड, अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, अरुण काबेली लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, नेशनल हाइड्रो पावर लिमिटेड र दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन ।

यस वर्ष सर्वाधिक नाफा चिलिमे जलविद्युतले कमाएको छ । रकमको हिसावमा चिलिमे जलविद्युतको हिस्सा सर्वाधिक रहेको हो । यस वर्ष चिलिमे जलविद्युतले रू. ४० करोड १२ लाखभन्दा बढि खुदल नाफा गरेको छ । दश कम्पनीहरुमध्य सात कम्पनीको खुद नाफा गत वर्षभन्दा यो वर्ष बढेको छ भने एक कम्पनी खुद नोक्सानीमा रहेको छ । एक कम्पनीले नोक्सानी सुधार्दै नाफा गर्न सफल भएको छ भने अर्को एक कम्पनीले नोक्सानीलाई कम गर्दै गएको छ । 

यस वर्ष बरुण हाइड्रोपावरले सर्वाधिक नाफा बढाएको छ । गत वर्षको भन्दा बरुण हाइड्रोपावरको खुद नाफा १३२ दशमलव ४३ प्रतिशत बृद्धि भएको हो । गत वर्ष यो अवधिसम्म रू. ८७ लाख ९३ हजार खुद नाफा गरेको बरुण हाइड्रोले यस वर्ष रू. २ करोड ४ लाखभन्दा बढी यो नाफा गरेको हो । बरुण हाइड्रोपावरसँगै यस वर्ष पाँचथर पावरको ६४ दशमलव ७७ प्रतिशत, आँखुखोला जलविद्युतको २५ दशमलव ५० प्रतिशत, रूरू जलविद्युतको १९ दशमलव ६१ प्रतिशत, अरुणभ्याली हाइड्रोपावरको १० दशमलव १० प्रतिशत, अरुण काबेलीको ९ दशमलव ६३ प्रतिशत र चिलिमे जलविद्युतको २ दशमलव २४ प्रतिशत खुद नाफा बढेको हो । 

यस वर्ष घलेम्दी हाइड्रोपावरले भने रू. २० लाख ७ हजार खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म कम्पनी रू. ९६ लाख ७२ हजार खुद नोक्सानीमा रहेको थियो । यस वर्ष कम्पनीले नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । त्यस्तै नेशनल हाइड्रोपावरको खुद नाफा भने गत वर्षभन्दा यस वर्ष ३९ दशमलव १८ प्रतिशत कम भएको छ । गत वर्ष रू. १ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको नेशनल हाइड्रोपावरले यस वर्ष भने रू. ८५ लाख ४९ हजार मात्र खुद नाफा गरेको हो । दश मध्य दिव्यश्वरी हाइड्रोपावर मात्र यस वर्ष खुद नोक्सानीमा रहेको छ । 

कम्पनी खुद नोक्सानीमा रहे पनि गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने नोक्सानी रकम घटाएको छ । गत वर्ष रू. १ करोड ३९ लाखभन्दा बढी रहेको खुद नोक्सानी यस वर्ष ८८ दशमलव ८५ प्रतिशत कम गरी रू. १५ लाख ५६ हजारमा झारेको हो । यस वर्ष दिव्यश्वरी हाइड्रोपावरको कुल आम्दानी बढेको र वित्तीय खर्च घटेकाले खुद नोक्सानीमा कमि आएको हो । गत वर्ष रू. ४ करोड ३० लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ८ लाखभन्दा बढी कुल आम्दानी गरेको हो । 

प्रतिक्रिया दिनुहोस