aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जडिबुटी उत्पादनमा निजी क्षेत्रको उदासिनता

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • शुक्रबार, २१ माघ २०७८
जडिबुटी उत्पादनमा निजी क्षेत्रको उदासिनता

काठमाडौं । नेपाल जैविक विविधताको धनी देश हो । यहाँ हिमाल पहाड तराईका विभिन्न क्षेत्रमा १७ हजार भन्दा बढी प्रजातिका वनस्पतिहरु पाइन्छन् । धेरैजसो वनस्पतिहरु तराईका चुरे क्षेत्र र पहाडी भेगमा पाइने गरेका छन् । 

जस अन्र्तगत नेपालमा मात्र पाइने वनस्पतिहरु ३ सय रहेका थिए । अहिले २९५ को हाराहारीमा रहेको वनस्पति विभागका महानिर्देशक डा. बुद्धीसागर पौडेलले जवनाकारी दिए । उनले भने, ‘हामीसँग जैविक विविधता धेरै छ । तर, तिनिहरुको संरक्षण र जोगाउन पनि उत्तिकै चुनौती रहेको छ । वनस्पतिको संरक्षण गर्न सके र उपयोग भने गर्न सकेको छैनौ ।’ साथै उनले नेपालमा वनस्पतिको संरक्षण भएपनि यसको उपभोगमा भने पछि रहेको बताए । 

उनका अनुसार धेरैजसो वनस्पतिहरु औषधि उत्पादनमा प्रयोग हुने गरेका छन् । यससँगै सेप्पु, साबुन,मन्जन र तेलमा पनि प्रयोग हुने गरेको छ । आयुर्वेदिक औषधि उत्पादनमा र धामी झाँक्रीहरुले केही मात्रामा प्रयोग गरेको भएपनि तर जुन अनुपातमा यसको उपभोग हुनुपर्ने हो त्यस मात्रामा भएको छैन । यसको अध्ययन अनुसन्धान पनि हुन सकेको छैन । 

वनस्पतिलाई औषधि उत्पादनका साथै यसको उपभोग वृद्धि गर्नसके आम्दानीको पाटोलाई पनि सुधार गर्न सकिने उनको भनाइ छ  । उनले भने, ‘प्राकृतिक रुपमा भएका सबैजसो वनस्पतिहरुको संरक्षण र उपभोग वृद्धि गर्नसके आम्दानीमा पनि सुधार गर्न सकिन्छ । अहिले यसको संरक्षण उपभोग सरकारले मात्र गरिरहेको छ । निजी क्षेत्रहरुले पनि वनस्पतिको संरक्षण र यसलाई प्रवद्धन गरेदेखि जडिबुटीको उत्पादनले आम्दानीको पाटोलाई पनि सुधार गर्ने थियो ।’

नेपालमा भएका वनस्पतिहरुको राम्रो अध्ययन अनुसन्धान नगरी बाहिर पठाइने गरेको उनले बताए  । जसले गर्दा कुन वनस्पति जडिबुटी हो अथवा हैन भन्ने पनि अध्ययन अनुसन्धान नै नभएको उनी बताउँछन् । 

उनी भन्छन्, ‘ नेपालमा भएका धेरैजसो वनस्पतिहरुको राम्रो अध्ययन अनुसन्धान नगरी बाहिर पठाइने गरेको छ । जसले गर्दा कुन वनस्पति जडिबुटी हो अथवा हैन भन्ने पनि अध्ययन अनुसन्धान नै भएको छैन । धेरैजसो जडिबुटीहरु कच्चा पर्दाथ नै विदेशमा निर्यात गर्ने गरिएको छ ।  जसको महत्वको बारेमा अध्ययन हुन सकेको छैन ।’ 

थोरै पैसामा यहाँका वनस्पतिहरु कच्चा पदार्थको रुपमा निर्यात भइरहेका कारण  नेपालले घाटा व्यहोर्नु परेको उनले गुनासो गरे । उनले भने, ‘हामीले अझै पनि वनस्पतिको पर्याप्त मात्रामा खेती गर्न सकेका छैनौ । अध्ययन अनुसन्धान पर्याप्त मात्रामा नभएका कारण हामीले खेती गरेका वनस्पतिहरु पनि कच्चा पदार्थका रुपमा नै पठाउनुपर्ने हुन्छ ।’

नेपालबाट निर्यात भएका वनस्पतिहरुको अध्ययन अनुसन्धान र मुल्याङकन हुन सके जडिबुटी उत्पादनले आम्दानीको स्तर माथि उकास्ने उनले बताए । उनले भने, ‘ नेपालबाट निर्यात भएका वनस्पतिहरुको अध्ययन अनुसन्धान, मुल्याङकन र उत्पादनलाई वृद्धि गर्न सके मात्र फाइदा हुन्छ ।’  

तर,सबै वनस्पतिहरुको उत्पादनमा वृद्धि गर्न भने नसकिने उनी बताउँछन् । पौडेल भन्छन्, ‘हामीले सबै वनस्पतिहरुको अध्ययन अनुसन्धान र उत्पादन गर्न नसके पनि जटामरी, चुत्रो लगायतका मुख्य वनस्पतिहरुको उत्पादन अध्ययन र मुल्याङकनमा भने जोड दिनुपर्छ ।’

अहिले व्यवसायीक रुपमा टिमुर,कुरिलो, तेजपात, बोझो लगायतका वनस्पतिहरुको व्यवसायिक रुपमा खेती भइरहेको उनले जानकारी दिए । उनले भने, ‘नेपालमा प्राकृतिक रुपमा धेरै किसिममा वनस्पतिहरु पाइन्छन् । त्यसमध्ये टिमुर,कुरिलो, तेजपात, बोझो लगायतका वनस्पतिहरुको व्यवसायीक रुपमा खेती भइरहेको छ ।  पाँच औले जटामसी, लोठसल्ला, कुट्की, ढुसी आदि धेरै मुल्यका वनस्पति हुन् ।’

अवैध रुपमा चोरी पैठारी गरी बाहिर निर्यात गरिएका जडिबुटीहरुको नियन्त्रणमा सबै निकायहरुले पहल गरिरहेको उनले बताए । उनका अनुसार सबै सामुदायिक वनमा रुपान्तरण भएपछि त्यहाँका उपभोक्ताहरुले पनि वनस्पतिको चोरी पैठारीमा नियन्त्रण भएको छ । 

उनले भने, ‘वनबाट पहिले जस्तो वनस्पतिहरुको चोरी निकासी भएको छैन । सबै वनहरु सामुदायिक वनमा रुपान्तरण भएपछि त्यहाँका उपभोक्ताहरुले पनि वनस्पतिको चोरी पैठारीमा नियन्त्रण गर्ने गरेका छन् ।’ 

तर सामुदायिक वनका उपभोक्ता, प्रहरी प्रशासन लगायतका धेरै निकायहरु भएपनि हिमाली जिल्लाका वनस्पतिहरु भने राजस्व पनि नतिरि जम्मा गरेर पठाउने गरेको उनले बताए ।  उनले भने, ‘सामुदायिक वनका उपभोक्ता, प्रहरी प्रशासन लगायतका धेरै निकायहरुले वनस्पतिको चोरी निकासीमा नियन्त्रण गरेपनि हिमाली जिल्लाका वनस्पतिहरु भने राजस्व पनि नतिरि जम्मा गरेर पठाउने गरेको पाइएको छ । तर पहिलेको तुलानमामा भने अहिले वनस्पतिको चोरी निकासीमा धेरै  नियन्त्रण भएको छ ।’

उनका अनुसारमा सबै प्रदेशहरुमा मुख्य वनस्पतिहरुको प्रवद्र्धन गर्ने वनस्पति विभागको योजना छ रहेको छ । उनी भन्छन्, ‘सबै प्रदेशहरुमा मुख्य वनस्पतिहरुको प्रवद्धन गर्ने योजना छ । त्यसमा पनि विशेष गरी छ र सात नम्बर प्रदेशमा थोरै वनस्पतिहरुको खेती गरेर त्यसको संरक्षण र व्यवस्थापनमा लाग्ने योजना बनाएका छौ यसका लागि काम गरिरहेका पनि छौ ।’

तर जडिबुटी उत्पादनमा निजी क्षेत्रको उदासिनता देखिएको उनी बताउँछन् । उनी भन्छन्, ‘वनस्पति विभागले मात्र यो योजना सफल पार्न सक्दैन, यससम्बन्धी विभिन्न तालिमहरु र कार्यक्रमहरु पनि गरेका छौ । स्थानीय तह, व्यवसायीक किसानहरु पनि मिलेर जडिबुटीलाई प्रवद्र्धन गर्ने योजना रहेको छ ।’

त्यसैगरी जटिबुटी उत्पादनलाई आवश्यक पर्ने मेसिनरी सामानहरुको पनि व्यवस्थापन गर्ने र वनस्पतिको उत्पादन र उपभोगलाई सन्तुलनमा राखेर विशेष खेतीका रुपमा स्थापित गरी विदेश निर्यात गर्ने लगायतका योजनाहरु रहेको उनले बताए ।   

तर यी सबै काम सरकारले मात्र सम्भव नभएका कारण निजी क्षेत्रले पनि यसमा ध्यान दिनुपर्ने उनले बताए । यसका लागि अर्थमन्त्रालय, उद्योग मन्त्रालय, वन मन्त्रालयका साथै सबैले संयुक्त रुपमा काम गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘सबै निकाय र क्षेत्रहरुले सहयोग गरेमा जडिबुटी उत्पादनको क्षेत्र अघि बढ्छ । 

उनका अनुसार हाल वनस्पति विभागमा ३ सय कर्मचारीहरु रहेका छन् । धेरैजसो कर्मचारीहरु गार्डेनको हेरचाह, संरक्षण र व्यवस्थापनका आवद्ध रहेका छन् भने वनस्पति विज्ञहरु ८० जना रहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस