aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

‘अब हामी मिटरमा ट्याक्सी गुडाउँदैनौं’

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • आइतबार, २३ माघ २०७८
‘अब हामी मिटरमा ट्याक्सी गुडाउँदैनौं’

काठमाडौं । उपत्यका भित्र कोरोना संक्रमण नियन्त्रणका लागि सार्वजनिक सवारी साधनहरुमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागू गर्यो । उक्त नियम एक हप्ता नबित्दै परिमार्जित भयो । जसमा ट्याक्सी र निजी सवारीका बाहेक अन्य सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटायो । 

तर, सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर हटाएर ट्याक्सीमा भने लागू गरी सरकारले उल्टो काम गरिरहेको ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम बताउँछन् ।  उनी भन्छन्, ‘धेरै यात्रु बोक्ने सार्वजनिक सवारी भने जोर बिजोर लागू गरिएको छैन । ट्याक्सीलाई मात्र जोर बिजोर प्रणाली लागु गरियो । यसका लागि हामीले पहल गरिरहेका छौै तर सरकारबाट कुनै सुनुवाइ भएको छैन ।’ 

सरकारले कोरोना नियन्त्रणको बहानामा ट्याक्सीमा जोर बिजोर प्रणाली लागु गरेका कारण गरी खाने वर्गहरुलाई समस्या भएको गौतमले गुनासो गरे । उनले भने, ‘ट्याक्सी भनेको सहायक एम्बुलेन्स हो । गाह्रो पर्दा यात्रु, बिरामी बोक्नु पर्छ । यस्तो अत्यावश्यक सवारी साधनलाई सरकारले कोरोना संक्रमणको बहानामा जोर बिजोर लागु गरिदिँदा गरी खाने वर्गहरुलाई झन् समस्या भएको छ ।’

उनी भन्छन्, ‘सरकारले कर छुट गर्दैन, बैंकले ब्याज मिनाहा गर्दैन । घरबेटीले भाडा छुट गदैनन् । ट्याक्सीहरु अल्टरनेटमा चलाउनु परेको छ । जसले गर्दा ट्याक्सी व्यवसायीहरु थप मारमा परेका छन् ।’

नेपालमा अहिले सवारी साधनहरुको चाप धेरै बढेपनि ट्याक्सीको विकल्पमा अरु गाडीहरु नभएको उनले बताए । उनी भन्छन्, ‘अहिले सवारी साधनहरुको चाप धेरै बढेपनि ट्याक्सीको विकल्पमा अरु गाडीहरु छैनन् । ट्याक्सीलाई जोर बिजोर नगरी चलाउन दिनुपर्छ । यसको विकल्प छैन ।’

यता महंगीसँगै पेट्रोलियम पदार्थको मुल्य वृद्धिको चपेटामा परेका ट्याक्सी व्यवसायीहरुलाई जोर बिजोर प्रणालीले थप मारमा पारेको उनले बताए । उनी भन्छन्, ‘पेट्रोलको भाउ बढेको छ । गाडी चलाउन सक्ने अवस्था छैन । महंगी बढेको छ । ट्याक्सीलाई जोर बिजोर गर्न आवश्यक छैन । हामी पिडित भएका छौ ।’

नयाँ ट्याक्सी चलाउन अनुमति दिनु भन्दा पनि अहिले भएका ट्याक्सीहरुको जोर बिजोर हटाइ सञ्चालन गर्न दिनुपर्नेमा उनले जोड दिए । उनी भन्छन्, ‘उपत्यकामा अहिले १२ हजार भन्दा बढी ट्याक्सी छन् । यसबाट धेरैले गुजारा पनि छन् । अहिले उपत्यकामा ट्याक्सी अपुग भएका छैनन् । तसर्थ नयाँ ट्याक्सी चलाउन अनुमति दिनु भन्दा पनि अहिले भएका ट्याक्सीहरुको जोर बिजोर हटाइ सञ्चालन गर्न दिनुपर्छ ।’

ट्याक्सीको मुल्य कम्पनीको मुल्य नै १९ लाखभन्दा ढबी पर्ने हुँदा अनुमति नम्बर महंगो हुने गरेको उनले बताए । उनी भन्छन्, ‘कम्पनीको मुल्य नै १९ लाख पर्छ अरु सामानहरु समेत जोड्दा २२ लाख पर्न जान्छ । त्यसैले महंगो भएको हो ।’ 

ट्याक्सी व्वसायीहरुले कानुन संवत दर्ता गरेर सरकारले तोकेको भाडामा ट्याक्सी चलाइरहेको बेला पठाओहरुले मनोमानी ढंगले यात्रु ओसारी रहेको उनले बताए । उनी भन्छन्, ‘हामी ट्याक्सी चालकवालाहरु कानुन संवत दर्ता गरेर बिलबुक लिएर ४० हजार खर्च गरेर मिटर जडान गरेर सरकारले तोकेको भाडामा ट्याक्सी चलाइरहेका छौ । तर पठाओहरुले सुरक्षा विपरित ट्याक्सीले भन्दा महंगो भाडा लिएर यात्रु ओसारी रहेका छन् ।’ 

पठाओ यात्रुहरुका लागि सुरक्षित नभएको उनले दावी गरे । उनी भन्छन, ‘पठाओहरुले मनोमानी ढंगले यात्रुहरु ओसारी रहेका छन् । यो सरकारको कमजोरी हो पठाओबाट यात्रुहरु असुरक्षित छन् । यात्रुहरु लुटिइरहेका छन् । पठोओमा केही ट्याक्सीहरु पनि छन् ।  हामीले सरकारको भाडामा ट्याक्सी चलाएको छौ भने पठाओले आफैले भाडा तय गर्ने गरेको छन् । कम्पनीको नाममा जनता लुट्न पाइदैन ।’

अहिले ३५ हजारको मोटरसाइकलसँग ३५ लाखको ट्याक्सीले प्रतिस्पर्धा गर्नुपरिरहेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘ अहिले ३५ हजारको मोटरसाइकलसँग ३५ लाखको ट्याक्सीले प्रतिस्पर्धा गर्नुपरिरहेको छ । अब हामी मिटरमा ट्याक्सी गुडाउँदैनौ ।’

पेट्रोलियम पदार्थको मुल्य निरन्तर बढीरहेका बेला सरकारले उपत्यकामा ट्याक्सीको भाडा अझै समायोजन नगरेकोमा उनले गुनासो गरे । उनले भने, ‘सरकारले ८४ रुपैयाँ पेट्रोलको मुल्य हुँदा तोकेको भाडामा ट्याक्सी चलाइरहेका छौ । उपत्यकामा अझै वैधानिक भाडा समायोजन भएको छैन । महंगी धेरै बढी सक्यो ८४ रुपैयाँ पेट्रोलको मुल्य हुँदाको भाडामा अब यात्रु बोक्न सक्दैनौ ।’ 

ट्याक्सीमा लागु भएको जोरबिजोर प्रणाली हटाउन सरकारसँग पटक पटक पहल गर्दा पनि अझै सुनुवाइ नभएको उनले सुनाए । उनले भने, ‘जोरबिजोर प्रणाली हटाउन सरकारसँग पटक पटक पहल गर्दा पनि अझै सुनुवाइ भएन । सिडियाले बुधबारसम्म जोरबिजोर हटाउँछौ भने पनि अझैसम्म अत्त्तोपत्तो छैन । सिडियोलाई हामीले ज्ञापन पत्र बुझाएका छौ । कहिले खोल्छ थाहा छैन ।’
   

  
 

प्रतिक्रिया दिनुहोस