aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बेलायतको सरकारी विमानले २०० नेपालीको लगेज फिर्ता गरेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ माघ २०७८
बेलायतको सरकारी विमानले २०० नेपालीको लगेज फिर्ता गरेन

 काठमाडौं । बेलायतको रोयल एयर फोर्सले ६ महिनासम्म पनि गोर्खा फोर्सको लगेज फिर्ता दिन सकेको छैन । व्रिटिश सेनाले अफगानिस्तानबाट उद्दार गरी बेलायत लगिएका गोर्खा गार्ड फोर्सका जवानहरुका लगेजहरु हालसम्म पनि पाएका छैनन् । अफगानस्तानबाट सेनाले लगेको ६ महिना बितिसक्दासम्म पनि रोयल एयर फोर्सले नेपाल पठाउन नसक्दा सयौं पिडितहरु अलपत्र परेका छन। 

गत बर्षको अगष्ट महिनामा सशश्त्र तालिवान लडाकूहरुले अन्दाधुन्द किसिमले अफगानिस्तानको राजधानी काबुलमा रहेको व्रिटिस एम्बेसी लगायत सम्पूर्ण पश्चिमा गठबन्धनका दूतावासहरु माथी घेरा हाल्दै धावा बोलेपछि व्रिटिस सेनाले उद्दार गरी बेलायत तर्फ लगिएको थियो । 

 गोर्खा गार्ड फोर्सका जवानहरुका लगेजहरु अहिले ६ महिना बितिसक्दासम्म पनि रोयल एयर फोर्सले बेलायतबाट फिर्ता पठाउन नसक्दा सयौं पूर्व सेक्युरीटी अफिसरहरु मर्कामा परिरहेको गुनासो छ। ती सेक्युरीटी अफिसरहरुले  सम्बन्धित राजदूतहरु आ(आफ्ना दूताबाशहरु छोडी रातारात भागेपछि पनि अन्तिम समयसम्म दूताबासहरुलाई पहरा दिई बसेरहेका थिए।  

ती नेपाली सूरक्षा गार्डहरुले त्यतिबेलाको संकटकालीन समयमा पश्चिमी दूताबासहरु मात्र नभई संयुक्त सूरक्षा फौजको कर्पोरेट हेडक्वाटरहरु क्रमश गार्डावर्ल्ड, जी फोर एस तथा हार्ट कम्पनीहरुको मुख्यालयहरुलाई सुरक्षा दिएका थिए । 

 अफगानिस्तान छोड्नु पर्ने तालीबानको उर्दी आफ्नो हेडक्वाटर मार्फत आएपछि तालिबानला हतियार बुझाएर हमिद कारजाई ईन्टरनेशनल एयरपोर्ट स्थित बृटिश क्याम्पमा शरण लिन पुगेका थिए। त्यसपछि उनीहरुलाई सेनाको जहाजले नै दुबई पुर्याईएको थियो। 

यसपछि उनीहरुलाई दुबईबाट नजिकैको नेपाल नल्याइकन  रोयल एयर फोर्सको जहाज मार्फत बेलायत तर्फ रिलोकेशनकोलागि लगिएकोमा सुरक्षा कम्पनीका ठेकेदारहरुले आफ्नो आर्थिक भार घटाउनकोलागि जबर्जस्ती झुक्याएर नेपाल पठाईएकोले अहिले सम्म पनि उनीहरु अन्यौलमा परिरहेको पाईएको छ।  
  
अन्यौलमा परिरहेका ती बफादार गोर्खा गार्ड फोर्सका जवानहरुले भने आफूहरुलाई बेलायत सरकारले विश्वको अगाडी सिर्फ केवल देखाउनको लागि मात्रै उद्दार गरेर बेलायत लगे जस्तो गरी आखिर आफूहरुलाई रित्तै हात नेपालतिरै फर्काई दिएको गुनासो पोखेका छन्। नत्र नजिकैको नेपाल नल्याई किन टाढाको बेलायततिर लगियो त ? भन्ने प्राय जम्मै उनीहरुको तर्क छ।   

नेपाल ईमिग्रेशनले अनेक बहानामा घूस माग्दै भाँजो हालिरहेको गुनासो गरेका छन्। उनीहरुको भिसाको म्याद यही फेब्रुअरीको १७ तारीखसम्ममा सकिंदै छ। बेलायतले आफ्नो सह(नेतृत्वमा गरिरहेको लामो अफगान युद्धको जोखिमपूर्ण क्षेत्रमा अन्तिम समयसम्म सोझा र ईमान्दार नेपाली कामदारहरुलाई विभिन्न प्रलोभन देखाई सुरक्षा कवच अर्थात् मानब ढालको रुपमा प्रयोग गरी अहिले आएर उनीहरुलाई अलपत्र छोडी छोडेको पीडितहरुको गुनासो रहेको छ । 

अफगानीस्तानबाट उद्दार गरी बेलायतसम्म ल्याईएका करीब २०० जना भन्दा बढी यस्ता पिडितहरुसंग प्रत्यक्ष सम्पर्कमा रहेका रुद्र ढकालले बताए ।  बेलायतको लिभरपुलबाट पीडितहरुसंग सम्पर्क गरी अन्तरक्रिया गर्दा, उनीहरुले आफूहरु दुवै देशको सरकार र ईमिग्रेशनको मात्रै नभई अहिले आएर बेलायतको रक्षा मन्त्रालयको ढिला सुस्तीको कारणले समेत मर्कामा परिरहेको गुनासो पोखिरहेको बताईएको छ। 

ढकालका अनुसार सुरक्षा ठेकेदार कम्पनीहरुले ती कामदारहरुबाट जनही प्रति महिना ३०० रुपैयाँसम्म सामाजिक सुरक्षाको लागि कर तथा संचयकोष काटेकोमा अहिले आफूहरुले कतैबाट पनि केही नपाएको उनीहरुको गुनासो छ। यसबाट ती नेपाली कामदारहरुको वर्षौसम्मको संचय कोष सहित करोडौको पसिना गुमेको अनुमान छ। 

अफगानिस्तानबाट बेलायत हुँदै फर्काईएका ती व्रिटिश दूताबासका अबकास प्राप्त सूरक्षाकर्मीहरु नेपालको श्रम मन्त्रालयमा सहयोग माग्न जाँदा श्रम विभागका कर्मचारीले यसको प्रकृयाको लागि जनही ४ लाखको दरले शुरुमै डिपोजिट राख्नु पर्ने भन्दै घुस खान खोजेको समेत पिडितहरुको गुनासो छ। 

त्यस्तै बेलायती दूताबासमा पनि ११० जनाको नेतृत्व गर्दै गएका पूर्व कर्मचारीहरुलाई लैनचौर स्थित बेलायती दूतावासका कर्मचारीहरुले आफूहरुले केही पनि गर्न नसक्ने भन्दै पन्छाईदिएको उनीहरुको गुनासो छ। गोर्खा गार्ड फोर्सका एक पिडितले १२ बर्षसम्म बेलायती दूताबासमा बफादार रुपले चौकीदारी गरेको बताए ।  उनले भने, 'ज्यान थापेर भित्र राजदूतहरुलाई आनन्दले निदाउन दिईयो तर अहिले हामीहरुको निन्द्रा खोसिएको छ। न्याय खोज्नलाई बेलायतै फर्कन्छु भनेर एयरलाईन्सको टिकट काटेर एयरपोर्ट सम्म पुग्दा पनि विमानस्थलका कर्मचारीहरुले घुस खान नपाएर उडाएनन्, हाम्रो मर्का कसले बुझिदिका छन् ।' 

  
 

प्रतिक्रिया दिनुहोस