काठमाडौं । फागुनदेखि कुर्था– जयनगर रेल सञ्चालनका लागि तयार भएको छ । कुर्था–जयनगर खण्डको रेल सञ्चालनका लागि लिक तयार भएको तीन वर्षपछि बल्ल रेल सञ्चालनका लागि तयार भएको हो । २०७७ साल असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।
लामो कसरत पछि अब भने जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन हुने पक्का भएको छ । आउँदो फागुन महिनाको सुरुवातदेखि नै रेल सञ्चालनको तयारी भइरहेको रेल्वे कम्पनीले जनाएको छ । गत पुस २३ गते शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोंकणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेका थिए ।
आउँदो फागुनको १ गतेदेखि एक हप्तासम्म ‘ड्राइ रन’ गराएर प्राविधिक समस्याबारे एकिन गरेर रेल सञ्चालन ल्याइने रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आर्थिकन्युज डटकमलाई जानकारी दिए । उनी भन्छन्, ‘केहि दिन अघि परिक्षणका लागि रेल गुडाइएको थियो । तर, एक दिन मात्रै परिक्षण गरेर नहुने रहेछ । लामो समयदेखि नचलाई राखेको हुनाले एक हप्तासम्म ड्राइ रन गराउने तयारी थालेका छौं । यसपछि प्राविधक समस्याबारे एकिन गरेर रेल सञ्चालन गर्छौँ ।’
साथै उनले एक हप्तासम्म प्रत्येक दिन एक पटक जयनगर–कुर्था रेल गुडाइनेसमेत बताए । महाप्रबन्धक झाले भने, ‘एक हप्तासम्म यात्रु बिना नै हामीले परिक्षण गर्ने तयारी गरेका छौं । त्यस अवधिमा दैनिक एक पटक रेल सञ्चालन गर्छौ ।’
त्यस्तै, उनले जयनगर–कुर्था मार्गमा रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको बताउँदै भने, ‘हाम्रो पक्षबाट सबै तयारी पुरा भएको छ । नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीले उद्घघाटन गर्ने भनिएको छ । उद्धघाटनको मिति तोक्न बाँकी रहेको छ । सम्भवत फ्रेब्रुअरी महिना भित्रै उद्धघाटन हुन्छ । त्यसपछि नियमित रेल सञ्चालन हुन्छ ।’
महाप्रबन्धक झाले रेल सञ्चालनका लागि कानुन, बजेट, एसओएस, प्राविधिक र आवश्यक कर्मचारीलाई तालिम दिइएको समेत जानकारी दिए । रेल सञ्चालनका लागि ६० जना कर्मचारीलाई भारतीय प्राविधिक र रेलका कर्मचारीले तालिम दिएका हुन् ।
उनका अनुसार कुर्थादेखि जयनगरसम्म चल्ने रेल्वे सेवाको भाडासमेत तय भइसकेको छ । कुर्था–जयनगरसम्म सामान्यमा ७० रुपैयाँ भाडादर कायम गरिएको छ भने एअर कन्डिसन(एसी) सहितमा प्रतिव्यक्ति दुई सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
उक्त रेलमा १ हजार २०० देखि १ हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस