
काठमाडौं । हालै भएको हिउँदे वर्षाका कारण देशभरका इँटा उद्योगमा ठुलो क्षति पुगेको छ । इँटा उत्पादन हुने समयमा भएको वर्षाका कारण मुलुकका विभिन्न स्थानमा सञ्चालनमा रहेका इँटा उद्योगमा अर्बौ रुपैयाँ बराबरको क्षति पुगेको हो ।
सामान्यतया हिउँदे वर्षा ठुलो मात्रामा हुने गर्दैन। तर, यो सालको वर्षा भने ठुलो मात्रामा भएकोले यस्तो क्षति पुगेको हो। पश्चिमी न्यून चापीय वायुका कारण हालै भएको वर्षका कारण देशभर करिब तीन अर्ब मूल्य भन्दा बढीको काँचो इँटा नष्ट भएको नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले बताए । उनले भने, ‘माघ महिनामा परेको वर्षाका कारण देशभर डेढ अर्ब भन्दा बढी सङ्ख्यामा इँटा क्षति पुगेको छ । मूल्यको हिसाबले हेर्ने हो भने हामीले एउटा काँचो इँटाको सरदर मूल्य दुई रुपैयाँ राख्छौँ । देशभर करिब तीन अर्ब रुपैयाँ बराबरको इँटामा क्षति पुगेको छ ।’
उनका अनुसार इँटा उत्पादनको मुख्य सिजन भनेको असोज, कात्तिकदेखि लिएर वैशाखसम्म हो । यस वर्ष यही सिजनमा धेरै बेमौसमी वर्षा भइरहेको छ । गत वर्ष यो सिजनमा कम वर्षा भएको थियो । तर, यस वर्ष माघमा परेको पानीका कारण इँटा उद्योगमा धेरै नै क्षति पुगेको छ ।
‘बारा, पर्सा, रौतहट, सर्लाही तिर भन्दा पूर्वतिर कम क्षति भएको छ । तर, देशभर हेर्ने हो भने व्यापक नोक्सानी भएको छ’, उनले भने, ‘यो बेला धेरैजसो इँटाहरू भर्खर भर्खर बनाएको हुन्छन् । जुन स्टक गरेर राख्न मिल्दैन । सुकाउनु नै पर्ने हुन्छ । हामीले इँटा खुल्ला फाटमा सुकाउँछौँ । यसले गर्दा पानी पर्दा काँचो इँटा चाडै नै गल्ने हुन्छ ।’
उनले काँचो इँटामा क्षति भए पनि नयाँ इँटा उत्पादन गर्ने काम भने नरोकिएको जानकारी दिए । साथै उनले इँटा उत्पादनको सिजनमै नोक्सानी धेरै भएका कारण अब इँटाको मूल्य बढ्न सक्ने समेत बताए । ‘अहिले इँटाको व्यापार हुने मुख्य सिजन हो । व्यापार हुने सिजनमा नै इँटामा अर्बौँ रुपैयाँको क्षति भएको छ । यसले गर्दा माग अनुसारको आपूर्ति गर्न गाह्रो हुने हो की भन्ने हाम्रो अनुमान छ’, उनले भने, ‘अहिले तत्कालै इँटाको सर्टेज हुने अवस्था रहँदैन । उत्पादन भइरहेको छ । तर, लागत अनुसारको र्ईटाको भाउ बढ्न सक्छ । देशभर अब इँटाको मूल्य २० देखि ३० प्रतिशतसम्म बढ्छ ।’
अहिले इँटा प्रशस्त उत्पादन गर्न सकिएन भने जेठदेखि असोजसम्म माग अनुसारको इँटा आपूर्ति गर्न नसकिने उनको भनाई रहेको छ । ‘जेठदेखि असोजसम्म इँटा उत्पादनको सिजन होइन । अहिलेको सिजनमा प्रशस्त इँटा उत्पादन गर्न सकिएन भने जेठदेखि असोजसम्म इँटा सटेज हुनसक्छ’, उनले भने ।
महासङ्घका अनुसार कोरोना काल अघि देशभर करिब १३ सय इँटा उद्योग सञ्चालन रहेका थिए । तर, अहिले पूर्ण रूपले सञ्चालनमा रहेका देशभरका ई टा उद्योगको सङ्ख्या करिब ७ सय रहेको छ । यस अवधिमा करिब ६ सय इँटा उद्योग बन्द भए ।
कोरोनाकलामा धेरै इँटा उद्योगहरू सञ्चालन भएका थिएनन् । कोरोना कम हुँदै गए पनि धेरै उद्योगहरू पूर्णरुपले सञ्चालनमा आउन नसकिरहेको उनको भनाई छ । अध्यक्ष चित्राकार भन्छन्, ‘यसरी ई टा उद्योग बन्द हुनुमा कोरोनाको मात्रै कारण पनि नहुन सक्छ । इँटा उद्योगमा अन्य समस्याहरू पनि धेरै छन् । कोइलाको भाउमा वृद्धि हुनु, इँटा उद्योगीले ऋण नपाउनेदेखि लिएर कामदारसम्म अन्य देशको भर पर्नु पर्ने समस्या रहेका कारण धेरै उद्योग सञ्चालनमा आउन नसकेका हुन् ।’
नेपालमा सञ्चालित इँटा उद्योगका मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । देशभर सञ्चालनमा रहेका इँटा उद्योगमा ९० प्रतिशत भारतीय मजदुरहरू रहेका बताउँदै उनले भने, ‘नेपालीहरूमा धेरैजसो विदेश जाने चलन रहेको छ । नेपालमै केही गर्नुपर्छ भन्ने मानसिकता कम छ । जसले गर्दा नेपाली मजदुरहरू पाउन मुस्किल छ । विदेशबाट ल्याउनु पर्ने बाध्यता छ ।’
त्यस्तै, उद्योगीले इँटा उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि लगानीयोग्य पुँजीको पनि अभाव भएको उनको भनाइ छ । उनले भने, ‘इँटा उद्योगीहरूलाई बैंकहरुले ऋण दिन मान्दैनन् । चिनजान वा पहुँचको आधारमा केहीले ऋण पाएका छन् । बाँकी अरू इँटा उद्योगीहरूले ऋण पाउन मुस्किल छ ।’
इँटा उद्योग डुब्यो भने बैंक पनि डुब्छ भन्ने डरले बैंकहरुले ऋण दिन हिचकिचाइरहेको उनको भनाई छ । उनले भने, ‘सरकारी बैंकहरुले त इँटा उद्योगीलाई ऋण दिन नै मान्दैनन् । प्राइभेट बैंकहरुले पनि ऋण पाउन प्रोजेक्ट वा प्लान अनुसार हुनुपर्छ भन्छन् । बाहिरी धितो बिना उद्योग बैंकमा राखेर ऋण दिन मान्दैनन् । भएको धितोको आधारमा समेत ऋण दिन आनाकानी गर्छन् । जसले गर्दा हामी इँटा उद्योगीहरूलाई ऋण पाउन समस्या रहेको छ ।’
प्रतिक्रिया दिनुहोस