aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

वित्तीय खर्च उल्लेख्य मात्रामा बढ्दा अपर तामाकोशीको खुद नोक्सानी बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ माघ २०७८
वित्तीय खर्च उल्लेख्य मात्रामा बढ्दा अपर तामाकोशीको खुद नोक्सानी बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रू. ३३ करोड ५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी रू. ३ करोड १५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष विद्युत विक्री आम्दानी भएपनि कम्पनीको वित्तीय खर्च उल्लेख्य रुपमा बढेकाले खुद नोक्सानी रकममा बृद्धि भएको हो । 

कम्पनीले निर्माण गरेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट गत भदौ ४ गतेदेखि ४ युनिटबाट विद्युतको व्यापारिक उत्पादन सुरु भई भदौ २५ गतेदेखि आयोजनामा जडित ६ ओटै युनिटबाट विद्युत विक्री भैरहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले रू. ३ अर्ब ६४ करोड ६५ लाखभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको छ । गत वर्ष रू. १ करोड १२ लाखभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब २० करोड ३ लाखभन्दा बढी यो खर्च गरेको हो । जसले गर्दा कम्पनीको खुद नोक्सानी रकम ९४६ दशमलव ९० प्रतिशतले बढेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीको रिटेन्ड अर्निग भने रू. १ अर्ब ३९ करोडभन्दा बढी ऋणात्मक छ । कम्पनीको दिर्घकालिन कर्जा गत वर्षभन्दा २ दशमलव २९ प्रतिशत बढी रू. ४१ अर्ब रहेको छ भने अल्पकालिन कर्जा गत वर्षभन्दा ४५ दशमलव ४५ प्रतिशत बढी रू. ४ अर्ब रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८६ दशमलव ८६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस