
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ७ करोड ७९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ प्रतिशतले वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ७ करोड ४० लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमससम्ममा रू. १० करोड ७५ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएररू. ११ करोड १३ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४० करोड रहेको छ ।
कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ५८ करोड ७१ लाख र जीवन बीमा कोषमा रू. ३ अर्ब ८७ करोड सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले कुल रू. १ अर्ब ६३ करोड बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ३२ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासम्ममा रू. १ अर्ब २३ करोड बीमाशुल्क आर्जन गरेको थियो ।
साथै कम्पनीले आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ६० लाख कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि आइपीओ निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस