
काठमाडौं । माघ २६ गते बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा अन्तिम दिन फागुन १ गतेसम्म मागभन्दा करिब ५४ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ खरिदका लागि आइतवार साझ सवा ५ बजेसम्म २४ लाख १५ हजार ९१९ जनाले २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयर खरिदको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ् लिमिटेडले जानकारी दिएको हो ।
कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । कुल कित्तामध्य २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । यी बाहेक कम्पनीले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । यो शेयर विक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ ।
यो आईपीओलाई इक्रो नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ५५ करोड ५६ लाख पुग्नेछ । कम्पनीमा हाल संस्थापक तर्फ ९० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारण तर्फ कर्मचारी समेत १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०५ दशमलव ११ रहेको छ ।
यहि प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबारका लागि तय हुनेछ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थ देखि तीन गुणासम्म पहिलो कारोबारका लागि मूल्य तोक्ने व्यवस्था बमोजिम कम्पनीले रू. १०५ दशमलव ११ देखि रू. ३१५ दशमलव ३३ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीको सञ्चित नाफा रू. २ करोड ५५ लाखभन्दा बढी छ । चालू आवको अन्त्यसम्म कम्पनीले यो नाफा रू. ३ करोड ५३ लाखभन्दा बढी पुर्याउने प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया दिनुहोस