
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त कित्ता आईपीओ विक्री गर्न लागेको हो ।
यो आईपीओ छिटो अवधि फागुन १६ गतेसम्म विक्री खुला हुनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत १ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ । यो आईपीओ खरिदका लागि लक्ष्मी बैंकको मंथली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मंथली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । स्थानियले न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको यस आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने मध्यम क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ ।
हाल कम्पनीको संस्थापकहरुबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । संस्थापकबाट ८० प्रतिशत शेयर चुक्ता भएको हो । सर्वसाधारणमा सामूहिक लगानीकोष र कर्मचारी सहित १० प्रतिशत र आयोजना प्रभावित स्थानियमा रू. १० प्रतिशत शेयर बाँडफाँट पश्चात यो पूँजी रू. ३ अर्ब १२ करोड ५० लाख पुग्नेछ । कम्पनीको आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ८६ रहेको छ । यहि प्रतिशेयर नेटवर्थको तीनगुणासम्मको मूल्य रेञ्ज नेप्सेले कम्पनीले पहिलो कारोबारका लागि तोक्नेछ ।
प्रतिक्रिया दिनुहोस