aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अन्तिम दिनसम्म छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर ६५ प्रतिशतभन्दा बढी मात्र विक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ फागुन २०७८
अन्तिम दिनसम्म छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर ६५ प्रतिशतभन्दा बढी मात्र विक्यो

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर ६५ दशमलव २२ प्रतिशत मात्र विकेको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गरेकामा ५ लाख ८२ हजार ४५६ कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । 

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बैशाख १५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको लागि निवेदन दिएको कम्पनीलाई बोर्डबाट पुस १ गते स्वीकृति प्राप्त भएको थियो ।

कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाँढी पहिलो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दिर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात यो पूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ । कम्पनीको अधिकृत पूँजी रू. ५० करोड र जारी पूाजी रू. ३८ करोड ६९ लाख ७७ हजार छ । ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ ।

यस कम्पनीमा संस्थापक तर्फ हाल ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । थप ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ५४ करोड १७ लाख ६८ हजार पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस