
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुमध्ये यस वर्ष चार कम्पनीहरुको मात्र खुद नाफा बढेको छ भने आठ कम्पनीको घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष नाफा बढाउँनेमा नयाँ जीवन बीमा कम्पनीहरु अग्रस्थानमा देखिएका छन् । सूचीकृत पाँच नयाँ जीवन बीमा कम्पनीहरुमध्य यस वर्ष प्रभु लाईफ बाहेक अन्य चार कम्पनीले नाफा बढाएका छन् ।
यस वर्ष नाफा बढाउँनेमा सानिमा लाईफ इन्स्योरेन्स , रिलायन्स लाइफ इन्स्योरेन्स, ज्योति लाईफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स रहेको छ । पुरानाँ ८ सूचीकृत कम्पनीको नाफा भने यस वर्ष घटेको छ । सानिमा लाईफको ६९ दशमलव ३६ प्रतिशत, रिलायन्स लाइफको ३१ दशमलव ३२ प्रतिशत, ज्योति लाईफको २४ दशमलव २३ प्रतिशत र युनियन लाइफको ११ दशमलव ५७ प्रतिशत नाफा बढेको हो ।
सर्वाधिक नाफा बृद्धि यस वर्ष सानिमा लाईफको भएको छ । गत वर्ष रू. ५ करोड ५४ लाखभन्दा बढी नाफा गरेको सानिमा लाईफले यस वर्ष रू. ९ करोड ३९ लाखभन्दा बढी नाफा गरेको हो । सानिमा लाईफको यस वर्ष आम्दानी बढेकाले नाफा बढ्न सहयोग मिलेको हो । गत वर्ष ७ करोड १७ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष १२ करोड ९८ लाखभन्दा बढी आम्दानी गरेको छ ।
यस वर्ष सर्वाधिक नाफा घट्नेमा भने नेपाल लाईफ इन्स्योरेन्स रहेको छ । गत वर्ष ४२ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको नेपाल लाईफले यस वर्ष १३ करोड ४ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । यस वर्ष नेपाल लाईफले नोक्सानी व्यवस्थाका लागि १७ करोड ६६ लाखभन्दा बढी रकम छुट्याएकाले खर्च बढ्न गई खुद नाफा ६९ दशमलव ६४ प्रतिशत घट्न गएको हो । गत वर्ष १५ करोड ८८ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष नोक्सानी व्यवस्थाका कारण बढाएर ३२ करोड १ लाखभन्दा बढी खर्च गरेको छ ।
प्रतिक्रिया दिनुहोस