aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एलसी मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नाडाको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ फागुन २०७८
एलसी मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नाडाको माग

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले कर्जाको ब्याजदर घटाउने नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । नाडाले एलसी मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नेपाल राष्ट्रलाई बिहीबार पत्राचार गरेको हो । 

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि प्रतित पत्र (एलसी) खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिएको छ । यस्तो व्यवस्थाले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्य समेत बढ्न गई उपभोक्ताहरूलाई समेत असर पर्ने जाने नाडाको भनाई छ । 

पूर्व व्यवस्था अनुसारको न्यूनतम मार्जिनको व्यवस्था पुरानो अनुसार नै कायम गर्ने व्यवस्थाका लागि नाडाले अनुरोध गरेको छ । यदि उक्त व्यवस्था तत्काल परिमार्जन गर्न सम्भव नभएमा व्यवसायीहरूले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंक तथा वित्तीय संस्थाहरूले व्याज प्रदान गर्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकबाट निर्देशन जारी गर्न माग गरिएको छ ।

साथै हालै नेपालका बैंक तथा वित्तीय निकायहरूले निक्षेपको ब्याजदर बढाउने निर्णय गरेका छन् । निक्षेपको ब्याजदर बढेसँगै बैंक तथा वित्तीय निकायहरूले स्वाभाविक रूपमा कर्जाको ब्याजदर पनि बढाउने भएकोले यसमा पुनर्विचारका लागि नेपाल राष्ट्र बैंकसंग अनुरोध गरिएको छ ।  

वित्तीय निकायहरूले ब्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढ्दै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्नेछ । उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको वर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई वर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित छ । यसले नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने देखिएकोले कर्जाको ब्याजदर बढाउने नीतिमा पुनर्विचारका लागि नाडाको आग्रह रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस