aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

दुई पटकसम्म स्थगित महालक्ष्मी विकास बैंकको साधारण सभा फागुन १३ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ फागुन २०७८
दुई पटकसम्म स्थगित महालक्ष्मी विकास बैंकको साधारण सभा फागुन १३ गते

काठमाडौं । दुई पटकसम्म यस अघि स्थगित भएको महालक्ष्मी विकास बैंक लिमिटेडले २०औं वार्षिक साधारण सभा फागुन ११ गते बस्ने भएको छ । कम्पनीको फागुन ५ गतेको सञ्चालन समितिको बैठकले ११ बजे नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । यस अघि यो सभा कम्पनीले पुस २५ गते र माघ ३ गतेका लागि बोलाएको थियो । 

पुस २५ गते गणपूरक संख्या नपुगेपछि स्थगित सभा माघ ३ गतेका लागि पुनः बोलाईएको सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते बैंक समेतका विरुद्ध दायर गरेको रिटमा माघ ३ गतेका लागिनै पेशी तोकिएकाले स्थगित भएको थियो । उक्त रिटका सम्बन्धमा उच्च अदालत पाटबाट जारी भएको अल्कालिन अन्तरिम  आदेशलाई निरन्तरता दिनु परेन भन्ने आदेश प्राप्त भएसँगै कम्पनीले सभा बोलाएको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कार्यक्रम रहेको छ । यस वर्ष कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । । बैंकको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ । उक्त प्रस्तावलाई समेत सभाले अन्तिम रुप दिनेछ । यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो । यस अघि आर्थिक वर्ष ०७५÷७६ को मुनाफाबाट बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने बैंकले ८ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । 

यी प्रस्तावसँगै सभाले संस्थापक तर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचन समेत गराउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले साविककै बुक क्लोज मितिलाई कायम गरेको छ । कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गरेको थियो । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस