काठमाडौं । गत हप्ता सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य बढायो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफका आधारमा उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएपछि डीडीसीले दूधको मूल्य बढाएको हो ।
डीडीसीका अनुसार दूधको मूल्य देशभर तीन थरी निर्धारण गरिएको जनाएको छ । काठमाडौं उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५ रुपैयाँ, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ रुपैयाँ मूल्य कायम भएको छ । यसअघि दूधको मूल्य काठमाडौंमा प्रतिलिटर ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई ४८ पैसा उद्योगीले पाउनेछन् ।
डीडीसीले निर्धारण गरेको उपभोक्ता मूल्यमै निजी क्षेत्रले पनि दूध बिक्री गर्नु पर्ने यसभन्दा पहिलाको नियम रहेको थियो । तर, सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति निजी क्षेत्रले असन्तुष्टि जनाउँदै सरकारले मूल्य बढाएको भोलीपल्ट दूधको मूल्य बढाए । डीडीसीले दूधको मूल्य लिटरमा ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ पुर्याएको थियो । तर, यता निजी क्षेत्रका दुध बिक्री गर्ने उद्योग (डेरी)हरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरे । नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर ८६ रुपैयाँ कायम गरेको जानकारी दिए ।
उद्योगीहरूले दुग्ध उत्पादन, संकलन, ढुवानी, प्रशोधन र बजारीकरणमा पशु आहार, इन्धन, विद्युत्, ज्याला, ढुवानी खर्चको पटक–पटक मूल्य वृद्धि हुन गई कृषक तथा उद्यमीहरू मारमा पर्न गएकाले नेपाल सरकारका विभिन्न निकायमा किसानलगायत उद्यमीले समय सापेक्ष रूपमा दूधको खरिद तथा बिक्री मूल्य परिमार्जन गर्न अनुरोध गरेका थिए ।
सरकारले गत माघ १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयले कच्चा दूधको मूल्य प्रति लिटर ६.५२ वृद्धि गरी कच्चा दूधको न्युनतम् मूल्य ५६.०४ रुपैयाँ तोकेको थियो । उक्त दूधमा ३ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ निर्धारण भई दुग्ध विकास संस्थानबाट मूल्य निर्धारण गरेको थियो । उक्त मूल्य तोकेसँगै निजी क्षेत्रका उद्योगीहरूले भने विरोध जनाउँदै आएका थिए ।
उद्योगीहरूले किसानको मूल्यमा ७ रुपैयाँ र उद्योगीको मूल्य ३ रुपैयाँ बढ्नुपर्ने माग गर्दै आएका थिए । तर, सरकारले सो माग अनुसार मूल्य नबढाएपछि निजी क्षेत्रका व्यवसायीले आफूखुसी मूल्य बढाएको जनाएका छन् । दुधको मूल्य बढाउने विषयमा सरकार र निजी क्षेत्रबीच तादम्यता नमिलेको जस्तो देखिएको छ ।
डीडीसीले वृद्धि गरेको दूधको मूल्यको सम्मान गर्दै नयाँ मूल्य निर्धारण गरिएको नेपाल डेरी एसोसिएसनको महासचिव प्रल्हाद दाहालले बताए । उनले भने, ‘यसलाई तादम्याता नै नमिलेको भन्न मिल्दैन । यस अघि सिफारिस भएको मूल्यकै आधारमा दूधको मूल्य निर्धारण गरिने गरिएको थियो । तर, यसपटक भने सिफारिस गरेको मूल्यका आधारमा दूधको मूल्य नबढेकोले उक्त मूल्यलाई सम्मान गर्दै निजी क्षेत्रलेनयाँ मूल्य निर्धारण गरेको हो ।’
निजी क्षेत्रले मन्त्रीपरिषद् बैठकको निर्णयलाई सम्मान गर्दै त्योभन्दा बढी थपेर किसानलाई दिएको उनले जिकिर गरे । ‘डिडिसीले चाँही मूल्य ४२ रुपैयाँ ५० पैसा तोकेको छ । तर, उपभोक्ताले आधा लिटर दूध ४३ रुपैयाँ तिरेर दूध खरिद गरेका हुन्छन् । यो भनेको अव्यवहारिक हो’, उनले भने, ‘निजी क्षेत्रले मन्त्रीपरिषद् बैठकको निर्णयलाई सम्मान गर्दै त्योभन्दा बढी थपेर किसानलाई दिएका छौं । सरकारले तोकेको भन्दा दुई रुपैयाँ बढी कसानलाई दिने भनेका छौं ।’
निजी क्षेत्रले किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ पुर्याइएको उनको भनाई छ । यस्तो मूल्यको दूधमा ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको गुणस्तर हुनुपर्छ । बढेको मूल्य फागुन एक गतेदेखि लागू भइसकेको छ ।
उनका अनुसार सबै सरोकारवाला निकाय बसेर दुधको मूल्य १० रुपैयाँ बढाउने भनेर निर्णय भएको थियो । यस निर्णयलाई सिधै मन्त्रीपरिषद् बैठकमा पुर्याइयो । तर, उता कृषकलाई ६ रुपैयाँ ५२ पैसा मात्रै कृषकलाई मूल्य बढाइयो । जुन सिफरिस भएको भन्दा ४८ पैसा कम तोकियो । सिफारिसको मूल्य अनुसार निर्धारण नहुनुमा यस क्षेत्रको मर्म नबुझी हचुवाको भरमा तोकिए उनको भनाई छ ।
त्यस्तै, महासचिव दाहालले अन्य वस्तुको मूल्य बढ्दा दूधको मूल्य पनि बढाउनु पर्नेमा जोड रहेको बताए । उनले भने, ‘मूल्य बढाइनु हुदैन भन्ने स्वभाविकरुपमा एउटा कुरा होला । तर, कुनै पनि कुराको मूल्य बढेर भने दूधको मूल्य पनि बढ्दा हुन्छ । अन्य सबै वस्तुको मूल्य बढ्ने । बढेको मूल्यको मार दुग्ध क्षेत्रमा पर्छ । यसो हुँदा यस क्षेत्रमा घाटामा व्यापार व्यवसाय सञ्चालन गर्नु पर्ने हुन्छ । हाम्रो जोड भनेको अन्य वस्तुको मूल्य बढ्दा दूधको मूल्य पनि बढ्नु पर्छ ।’
उनले दूधको मूल्यवृद्धि भएसँगै डीडीसीले दही, पनिर, बटर, चिज, घ्यू, आइसक्रिम, मिठाई, रसबरीलगायतको मूल्य पनि बढ्ने बताए । उनले भने, ‘दूधको मूल्य बढेपछि यसको असर दग्धजन्य पदार्थमा पनि पर्छ । यसले गर्दा अब दुग्धजन्य पदार्थको मूल्य पनि बढ्छ ।’
प्रतिक्रिया दिनुहोस