aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बुटवल पावरले वितरण गर्याे नगद लाभांश, बैंक खाता अद्यावधिक गराउन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० फागुन २०७८
बुटवल पावरले वितरण गर्याे नगद लाभांश, बैंक खाता अद्यावधिक गराउन आग्रह

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी पारित गरेको कर समेतको १० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २६ गते सम्पन्न २९औं वार्षिक साधारण सभाबाट यस वर्षका लागि नगद लाभांशसँगै १० प्रतिशत बोनस शेयर समेत कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको थियो ।

बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने माघ २७ गतेदेखिनै वितरण गर्न सुरु गरेको बताएको छ । यसर्थ हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीहरुको नगद लाभांश भने वितरण हुन बाँकी रहेकाले यथासिघ्र गराउन कम्पनीले भनेको छ । 

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि लागि पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । 

कम्पनीले चुक्तापूँजी रू. २ अर्ब ९५ करोड १५ लाख ५४ हजारको आधारमा लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. ५० करोड ४६ लाख १९ हजार खुद नाफा गरेको थियो । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा ४ अर्बभन्दा बढी रकम सञ्चित रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस