
काठमाडौं । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले स्थानीयका लागि माघ २७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएकोे छ । निष्कासित शेयरका लागि प्रयाप्त आवेदन नपरेकाले कम्पनीले सूचना जारी गर्दै फागुन १९ गतेसम्म आवेदन दिन सकिने बताएको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्कासन गरेको हो । तर, कम्पनीले निष्कासन गरेको आईपीओमा बुधबार साँझ ५ बजेर २ मिनेट जाँदासम्म १ हजार २६७ जनाले २ लाख ९३ हजार ५२० कित्ताका लागि आवेदन दिएका सिडिएस एण्ड क्लिएरिङ्गले जानकारी दिएको छ । यो निष्कासित शेयरमध्ये २६ प्रतिशत मात्र हो ।
निष्कासन गरिएको कुल शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात् ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया दिनुहोस