
काठमाडौं । फागुन १ गतेदेखि जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म दिनको एक पटक रेल सञ्चालन भइरहेको छ । कुर्था–जयनगर खण्डको रेल सञ्चालनका लागि लिक तयार भएको तीन वर्षपछि बल्ल रेल सञ्चालन भएको हो ।
फागुनको १ गतेदेखि निरन्तरुपमा कुर्था–जयनगर खण्डमा ‘ड्राइ रन’ गराइरहेको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आर्थिकन्युज डटकमलाई जानकारी दिए । उनले भने, ‘फागुन १ गतेदेखि नै दिनको एक पटक कुर्था–जयनगर खण्डमा रेल सञ्चालन गरिहेका छौं । लामो समयदेखि नचलाई राखेको हुनाले अहिले‘ड्राइ रन’ गराइरहेका हौं ।’
उनका अनुसार उक्त क्षेत्रमा दिनको एक पटक बिना यात्रु रेल गुडिरहेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सयुक्तरुपमा उद्घाटन गरेपछि यात्रुसहित नियमित रेल सञ्चालन गर्ने तयारी गरिहेको महाप्रबन्धक झाले बताए । तर, उद्घाटनको मिति टुंगो लाग्न नसक्दा बिना यात्रु रेल सञ्चालन गर्नु परेको उनको गुनासो रहेको छ ।
महाप्रवन्धक झाले भने, ‘नेपाल र भारतका प्रधानमन्त्रीले सयुक्तरुपमा रेल उद्घाटन गर्नका लागि फागुन १६ या १७ गतेको मिति प्रस्ताव गरिएको थियो । उद्घाटन मिति तोक्ने काम केन्द्रले गर्छ । तर, दुई देशका प्रधानमन्त्रीको समय मिलाउन नसकिएका कारण अझै उद्घाटन मिति टुंगो लाग्न नसेको जानकारी आएको छ ।’
त्यस्तै, उनले जयनगर–कुर्था मार्गमा यात्रु सहित नियमित रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको बताए । उनले भने, ‘हाम्रो पक्षबाट सबै तयारी पुरा भएको छ । नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि यात्रु सहित नियमित रेल गुडाउने भनिएको छ । उद्घाटन भएपछि यात्रुसहित नियमित रेल सञ्चालन हुन्छ ।’
उनले लामो समयदेखि रेल थन्क्याएर राखे पनि प्राविधिक समस्या भने नदेखिएको बताए । ‘हामीले १२ दिनदेखि दैनिक एक पटक रेल सञ्चालन गरिहेका छौं । यसअघि रेल नचलाई राखेको लामो समय भएको थियो । प्राविधिक समस्या धेरै होलान भन्ने हाम्रो बुझाई थियो । तर, त्यस्तो प्राविधिक समस्या भने अहिलेसम्म देखिएको छैन’, उनले भने ।
तर, रेल जुन गतिमा गुड्नु पर्ने हो त्यो गतिमा गुड्न नसकेको गुनासो गरे । उनले भने, ‘रेल सञ्चालनका लागि मुख्य समस्या त केहि छैन । तर, रेल जुन गतिमा गुड्नु पर्ने हो त्यो गतिमा गुड्न पाएको छैन । यसको कारण भनेको रेलको लिकमा पशु चौपायाहरु आउने गरेका छन । साथै मानव आवागमन पनि प्रमुख कारण रहेको छ ।’
महाप्रबन्धक झाका अनुसार रेल सञ्चालनका लागि कानुन, बजेट, एसओएस, प्राविधिक र आवश्यक कर्मचारीलाई तालिम दिइएको छ । रेल सञ्चालनका लागि ६० जना कर्मचारीलाई भारतीय प्राविधिक र रेलका कर्मचारीले तालिम दिएका हुन् । कुर्थादेखि जयनगरसम्म चल्ने रेल्वे सेवाको भाडासमेत तय भइसकेको छ । कुर्था–जयनगरसम्म सामान्यमा ७० रुपैयाँ भाडादर कायम गरिएको छ भने एअर कन्डिसन(एसी) सहितमा प्रतिव्यक्ति दुई सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
उक्त रेलमा १ हजार २०० देखि १ हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने कम्पनीले जनाएको छ ।
२०७७ साल असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो । लामो समयसम्म उक्त रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी लामो सयमसम्म त्रिपाल ओढाएर राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस