
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो पटक प्रस्ताव गरेको १९ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन सर्वाधिक रकमको शेयर खरिद विक्री भएको छ । यो दिन कम्पनीको रू. २६ करोड ९७ लाख १६ हजार बराबरको ६ लाख ४२ हजार ६३७ कित्ता शेयर कारोबार भएको हो । कम्पनीको शेयरमूल्य भने यो दिन घटेको छ । अघिल्लो कारोबार दिनको भन्दा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९ ले घटेर अन्तिम मूल्य रू. ४१५ कायम भएको हो ।
कम्पनीको लाभांश बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र प्राप्त गर्नेछन् । कम्पनीले फागुन ३० गतेका लागि आव्हान गरेको २५औं वार्षिक साधारण सभाका लागि फागुन १३ गते एक दिन बुक क्लोज गर्ने भएकाले फागुन १२ गतेसम्म कायम शेयरधनीहरुमात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने भएका हुन ।
कम्पनीको फागुन १ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५१ लाख ८६ हजारको आधारमा १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हालसम्म शेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन ।
यस वर्ष कम्पनीले बोनस वितरणपछि कायम चुक्तापूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर समेत निष्कासन गर्ने प्रस्ताव गरेको छ । लाभांश तथा हकप्रद निष्कासनको प्रस्ताव सहित कम्पनीले आगामी साधारण सभाका लागि सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ती गर्ने प्रस्ताव समेत तय गरेको छ ।
कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ बराबर शून्य दशमलव २५ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गर्न लागेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्ष रू. ३२ करोड ४७ लाखभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष सुधारिएर रू. २६ करोड ८ लाख कायम भएको छ । यस वर्ष कम्पनीले रू. ८५ लाख ४९ हजार खुद नाफा गरेको छ । कम्पनीको खुद नाफा यस वर्ष ३९ दशमलव १८ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस