
काठमाडौं । पुराना जीवन बीमा कम्पनीहरुमध्य तोके बमोजिमको चुक्तापूँजी कायम गर्न बाँकी राष्ट्रिय बीमा संस्थानले आईपीओलाई पहिलो प्राथमिकतामा राखेको छ । जीवन बीमा कम्पनीहरुमध्य सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बीमा संस्थाले नियमक निकाय बीमा समितिले तोके बमोजिमको रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ, बोनस शेयर र हकप्रद शेयरको योजना अघि सारेको हो ।
बीमा समितिले २०७४ साल असार मसान्तसम्म जीवन बीमा कम्पनीले रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीले रू. १ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । सो समयमै संस्थानले पनि आईपीओ सहितको योजना समितिमा पेश गरेको थियो । संस्थानको पुराना आर्थिक वर्षको वार्षिक लेखापरिक्षण र वार्षिक साधारण सभा सम्पन्न गर्न बाँकी रहेकाले उक्त अवधिमा पछि परेको पूँजीबृद्धि योजना अब भने पुरा हुनसक्ने अवस्थामा पुगेको छ ।
आर्थिक वर्ष ०६८/६९ साल सम्मको वार्षिक साधारण सभा सम्पन्न गरिसकेको संस्थानले बाँकी वर्षहरुको साधारण सभा सम्पन्न गर्नका लागि पनि सक्रियता देखाएको छ । यसै आर्थिक वर्षभित्र बाँकी आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न गरी पूँजीबृद्धिको अभियानमा जुट्ने तयारीका साथ संस्थानले सक्रियता देखाएको हो । संस्थानले गत भदौ २६ गते आर्थिक वर्ष ०६६/६७, ०६७/६८ र ०६८/६९ को वार्षिक संयुक्त साधारण सभा सम्पन्न गरेको थियो । संस्थानका प्रशासनक कविप्रसाद प्रसाद पाठकले पुराना हिसावकितावको तथ्याङ्क व्यवस्थित नभएको र कतिपय रेकर्डनै नष्ट गरेका कारण पुराना आर्थिक वर्षको लेखा परिक्षण हुन ढिलाई भएको जानकारी दिएका छन् । हाल संस्थानको वित्तीय व्यवस्थापन डिजिटल प्रविधिबाट गर्दै आएकाले आगामी दिनमा यो समस्या नदोहोरिने विश्वास उनले व्यक्त गरे ।
आर्थिक वर्ष ०६९/७०, ०७०/७१ र ०७१/७२ को लेखापरिक्षण सम्पन्न गरी बीमा समितिबाट स्वीकृति प्राप्त गरिसकेको संस्थानले पछिल्लो आर्थिक वर्ष ०७५/७६ सम्मको वार्षिक लेखापरिक्षण सम्पन्न गरिसकेको समेत जानकारी दिएको छ । बीमा समितिले संस्थानको पूँजी बृद्धि योजना अघि बढाउँन पछिल्लो आर्थिक वर्षसम्मको यथार्थ वित्तीय विवरण पेश गर्न निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम संस्थानले पछिल्लो यथार्य वित्तीय विवरण तयारीमा सक्रियताका साथ काम गरेको जानकारी पाठकले दिएका छन् ।
हाल संस्थानको चुक्तापूँजी रू. रू. १८ करोड १० लाख २० हजार रहेको छ । संस्थानले संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम रहने गरी आईपीओ जारी गर्ने योजना बनाएको छ । संस्थानले पाँच वर्षे योजना बनाई सरकार, नेपाल राष्ट्र बैंक, र नेपाल बैंकमा पेश गरिसकेको बताएको छ । संस्थानले बनाएको योजना बमोजिम पूँजी बृद्धि गर्न शेयरधनीहरु समेत सहमत भएका छन् ।
संस्थान आफ्नै ऐन बमोजिम सञ्चालित भएकाले उसको ऐनमा रू. ५० करोड मात्र चुक्तापूँजी भए पुग्ने व्यवस्था छ । तर बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिको निर्देशनलाई पालना गर्नकै लागि संस्थानले रू. २ अर्ब पूँजी कायम गर्नुपर्नेछ । यसका लागि केहि कानुनी बाधा रहे पनि संस्थानले कानुनी बाधा फुकाएर पब्लिक कम्पनीमा रुपान्तरण भई पूँजीबृद्धिलाई अघि बढाउने योजना बनाएको हो ।
प्रतिक्रिया दिनुहोस