काठमाडौं । धितोपत्र दोस्रो बजारमा सुचिकृत १८ निर्जीवन बीमा कम्पनी मध्ये हालसम्म ११ कम्पनीहरुले मात्र गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेका छन् । सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन् ।
हालसम्ममा सार्वजनिक निर्जीवन बीमा कम्पनीहरुको लाभांशमध्य सगरमाथा इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रहेको छ । सगरमाथा इन्स्योरेन्सले कुल २१ दशलमव ०५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस वर्ष सबैभन्दा कम लाभांश भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको रहेको छ । यस कम्पनीले ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३२ प्रतिशत नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश घोषणा गरेका ११ कम्पनी मध्ये प्रिमियर इन्स्योरेन्स कम्पनीले भने गत माघ २१ गतेनै वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । यस वर्ष प्रिमियर इन्स्योरेन्सले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशलमव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यी वाहेक सानिमा जनरल इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले लाभांश बिनानै साधारण सभा सम्पन्न गरिसकेका छन् । हालसम्म नेपाल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, शिखर इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले भने लाभांश घोषणा गरेका छैनन् । यी कम्पनीहरुद्वारा वार्षिक साधारण सभा आव्हान गर्न बाँकी छ ।
लाभांश घोषणा गरीसकेका प्रिमियर इन्स्योरेन्स वाहेकका अन्य कम्पनीहरुमध्य हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले फागुन ३० गते साधारण सभा बोलाएको छ । सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस