aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

स्याउका बगैँचा व्यवस्थापन गर्दै किसान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ फागुन २०७८
स्याउका बगैँचा व्यवस्थापन गर्दै किसान

खलङ्गा । जुम्लाका कृषि प्राविधिक  स्याउ किसानका बगैँचा  व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न  बगैँचामा पुगेका छन् । प्राविधिकले बगैँचामै पुगेर  स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई सिकाइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोखरेलले किसानलाई प्रविधिक सीपमूलक तालिमसमेत दिएको बताए ।

उनले भने, “स्याउ सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांश किसानको बगैँचामै पुगेर स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालेका छौँ । स्याउ  किसानका बगैँचामै पुगेर काँटछाँट र व्यवस्थापनको व्यावहारिक अभ्यास गर्न थालिएको छ । बगैँचामै गएर अभ्यास गराउँदा किसान छिटो सिक्छन् । एकापसमा बगैँचाको व्यवस्थापनबारे अनुभव आदानप्रदान गर्छन् । गुणस्तरीय स्याउ उत्पादनका लागि जोड दिन्छन् । ”

बगैँचामै पुगेर व्यवस्थापन गर्दा किसानको समेत हौसला बढ्ने गरेको निमित्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिए । “यहाँको चन्दननाथ, तातोपानी, गुठीचौर र पातारासीका १० किसानको बगैँचामा स्याउ बगैँचा व्यवस्थापनको व्यावहारिक अभ्यास गरिएको हो । जुम्लासँगै कालीकोटको रासकोट र तिलागुफा नगरपालिकाका किसानको बगैँचामै कृषि प्राविधिक पुगेर सीप सिकाउन थालेका छन् । यो पटक कृषि प्राविधिकले ३७५ जना किसानलाई व्यवस्थापन र काँटछाँटको व्यावहारिक ज्ञान दिएका छन् । किसानलाई बगैँचामै बोलाएर व्यवस्थापन गर्न सिकाउँदा निकै लाभान्वित भएका छन् । बिरुवा लगाउनेदेखि काँटछाँट, मलखादको प्रयोग लगायतका विषयका किसानलाई सहजीकरण गर्ने गरिएको निमित्त प्रमुख पोखरेलले जानकारी दिए ।

प्रशिक्षक रामबहादुर खत्रीका अनुसार  किसानले स्याउ लगाएपछि बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिँदा हुने हानिका विषयमा प्रविधिक तालिम दिएको बताए । अहिले बगैँचामै पुगेर व्यवस्थापन तथा काँटछाँटको सीप सिकाउँदै आएका छौँ । किसान पनि निकै जागरुक भइसकेका छन् । बगैँचाभित्र देखिएको समस्याका बारेमा किसानले राय लिन्छन् । कृषि प्राविधिकले समस्या समाधानका लागि गर्नुपर्ने कार्यका बारेमा सुझाव दिने गरेको कृषि प्रविधिक बताउँछन् । कार्यालयबाट कृषि प्राविधिक बगैँचामै पुगेर सीप दिन थालेपछि यहाँका स्याउ किसान उत्साहित बनेको चन्दननाथ नगरपालिका–३ का स्याउ किसान  बाटुली सार्कीले जानकारी दिए ।  

किसानको जीवनस्तरमा परिवर्तन ल्याउन सीप निकै प्रभावकारी हुने गरेको छ ।  स्याउ खेतीमा किसानको आकर्षणसमेत बढाउने गरेको छ । स्याउ व्यवस्थापन र काँटछाँट गर्न किसान आफैँ परिपक्व भएमा सहज हुने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । स्याउ सुपरजोन परियोजना जुम्लामा लागू भएपछि स्याउ खेतीमा हुने हरेक समस्याका बारेमा किसानले सहजै रुपमा परामर्श लिन सक्ने स्याउ सुपर जोन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस