
काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २०१८ डिसेम्बरबाट नेपाली बजारमा इलेक्ट्रिक गाडी बिक्री गर्न सुरु गर्यो । अहिले नेपाली बजारमा हुन्डाइसँग कोना, आयोनिक र आयोनिक फाइभ गरी तीन मोडलका इलेक्ट्रिक गाडीहरू रहेका छन् ।
लक्ष्मी इन्टरकन्टीनेन्टलले आयोनीक–५ को लन्चीङसँगै ‘स्टेट अफदि आर्ट’नयाँ इलेक्ट्रिक कार बिक्रीका लागि काठमाडौंको थापाथलीमा शोरुम सञ्चालनमा ल्याएको छ । इभीको लागि मात्रै बन्ने शोरुममा अहिले विक्री भइरहेको कोना, आयोनीक र आयोनीक ५ राखिएको हुन्डाइ इभी शोरुम थापाथलीका सिनियर म्यानेजर दिवाकर रेग्मीले बताए ।
उनी भन्छन्, ‘विश्व नै अहिले विद्युतीय क्षेत्रमा लागि परिरहेको छ । नेपालमा पनि यसको सुरुवात गर्नुपर्छ । हामीले नगरे कसले गर्ने भनेर इभी इलेक्ट्रिकको अवधारणा नै हामीले ल्याएका हौँ । पछि अरू कम्पनीहरुले पनि यसको सुरुवात गर्न थाले । शोरुम पनि सिसाको मात्र हुनुपर्छ भन्ने अवधारणा पनि हामीले ल्याएका हौँ ।’
उनका अनुसार नेपालमा इभीको शोरुमको आवश्यकता छ । यसको मार्केट छ । ‘नयाँ मोडलका गाडीहरू पनि आउने भएकाले त्यसलाई मध्यनजर गरेर इभीको शोरुम सञ्चालन गरेका हौँ । यस शोरुममा भएका हरेक सामानहरू वातावरण मैत्री छन्’, उनले भने ।
गाडी नै वातावरण मैत्री भएका कारणले त्यही अनुसारले शोरुमको निर्माण गरेको उनी बताउँछन् । रेग्मी भन्छन्, ‘यस शोरुममा हामीले प्रयोग गर्ने पानीको बोटल पनि सिसाको छ । प्लास्टिकका सामानहरू प्रयोग गरेका छैनौँ । ग्राहकलाई पनि म यो वातावरण मैत्री शोरुममा आएको छु भन्ने अनुभव हुन्छ ।’
इभि गाडी हाइ भोल्टेज ब्याट्रीबाट चल्छ । यसमा डिजेल पेट्रोलको आवश्यकता पर्दैन । वातावरणमैत्री रहेको छ । नेपालमा इलेक्ट्रिक गाडीहरू ठुला साना जस्ता गाडी पनि प्रयोग गर्न सकिन्छ भनेर हुन्डाइले यसको सुरुवात गरेको उनले सुनाए ।
उनका अनुसार पहिले दुई जना मात्र बस्न मिल्ने सानो गाडीहरुमात्र आउँथ्यो । यस सँगै ठुला गाडीहरू पनि प्रयोग गर्न सकिन्छ, भनेर सुरुवात गर्यौ । हुन्डाइ कम्पनीले नेपालमा इलेक्ट्रिक गाडी मध्ये सुरुमा लन्च गरेको गाडी आयोनिक हो । त्यसपछि कोना लन्च गर्यो अहिले आयोनिक ५ लन्च भएको छ ।
‘अहिले हामीसँग तीन वटा इलेक्ट्रिक गाडी छन् । ती गाडीहरूमा हाइ भोल्टेजको ब्याट्री प्रयोग हुन्छ । वातावरण मैत्री छ । यसको अपरेशनल कष्ट एकदम कम छ । हामीले घरमा भएको बिजुलीबाट पनि चार्ज गर्न सक्छौँ । त्यसको पैसा त्यसमै रहन्छ’, रेग्मीले भने ।
उनका अनुसार आयोनिक फाइभ गाडीमा ५८.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको हुन्छ । अरू गाडीहरू भन्दा यसको डिजाइन अलि फरक छ । फ्ल्याट फ्लोर छ । लिभिङरुममा बसे जस्तो फिल हुन्छ । सिटहरू सानो भए पनि आराम दायी सिटहरू रहेका छन् । यसमा प्रयोग भएका सामानहरू बायो मटेरियल छन् । रिसाइकल गरेका प्लास्टिकहरूबाट बनेको हो । ३७५ किलोमिटर १२५ किलोवाट पावर दिन्छ ।
हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनीक–५ मारियर ह्वील ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा शोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, व्लाइन्ड स्पट भ्यु मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
रेग्मी भन्छन्, ‘यसको साइज र स्पेसमा फरक छ । हुन्डाईको पहिलो डेलिकेटेड इलेक्ट्रिक गाडीहरू मध्ये यसको लुक पनि फरक रहेको छ । पहिलेको हुन्डाईको पोनीबाट प्रेरित भएर यसको डिजाइन बनेको छ । यो गाडी १० वर्ष पछि हेर्दा पनि पुरानो लुक फिल नहुने तरिकाले बनेको छ । इलेक्ट्रिक गाडी तर फिचर डिजाइनमा बनाइएको छ ।’
बजारमा हालसम्म एक हजारको हाराहारीमा इलेक्ट्रिक गाडीहरू बिक्री भएको उनले बताए । ‘बजारमा अहिले इलेक्ट्रिक गाडीहरूको माग बढिरहेको छ । पहिले विदेश बसेर आएकाहरूलाई यो गाडीको बारेमा थाहा थियो । उनीहरूले मात्र प्रयोग गर्ने गर्थे । तर, अहिले सेकेन्डरी सिटीका लागि पनि यो गाडी किन्ने धारणाको विकास भएको छ’ उनी भन्छन्, ‘पहिले हाइ क्लासका गाडी प्रयोग गर्थे भने अहिले इलेक्ट्रिक गाडीहरूको प्रयोग गर्न थालेका छन् । माग बढी रहेको छ । पछि पनि राम्रै होला ।’
तर बजारमा माग अनुसारको गाडी उपलब्ध नभएको उनी बताउँछन् । उनले भने, ‘अहिले विश्वव्यापी रूपमा इभी गाडीहरूमा माग बढी छ । ब्याट्री उत्पादन गर्न चीन नै अगाडी छ । ब्याट्रीको लागि चीनसँग नै भर पर्नुपर्ने भएकाले उनीहरूको सप्लाइमा भर पर्नु परेको छ । बजारमा माग बढी छ । कच्चा पदार्थ र सामानहरूमा पनि भर पर्नुपर्ने भएपछि उत्पादन गर्न गाह्रो हुन्छ । माग अनुसारको आपूर्ति नै छैन ।’
उनका अनुसार हाल इभीका गाडीहरू मध्ये आयोनिक फाइभ काठमाडौंमा मात्र उपलब्ध छ । ‘आपूर्ति अनुसार अरू ठाउँहरूमा पनि जान्छौँ अहिले कोना र आयोनिक गाडीहरू भने नेपालभरि उपलब्ध छन् । आयोनिक फाइभको पनि विस्तार गर्न लागेका छौं’, उनले भने ।
इलेक्ट्रिक कार किन्ने ग्राहकलाई यो शाेरुमले प्रिमियम एक्सपिरीयन्स प्रदान गर्न सफल हुने कम्पनीले विश्वास लिएको छ । उक्त कम्पनीले इभी विक्री मात्र गर्ने नभई नेपालमा इभीकल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तयारी गरिरहेको छ ।
रेग्मीका अनुसार नेपालभरि इभि गाडीका ४० वटा चार्जिङ स्टेशनहरु रहेका छन् । कम्पनीले इभीको बढ्दो सङ्ख्यासँगै देशको विभिन्न स्थानमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । उनले भने, ‘हामीले चार्जिङ स्टेशनहरु पनि थपिरहेका छौँ । जहाँ इभीको शोरुमहरु छ । ती सबै ठाउँमा चार्जिङ स्टेशनहरु रहेका छन् । पोखरा, चितवन, हेटौडा, दाङ, धनगढी, विराटनगर, इटहरी, बिर्तामोड सबै ठाउँमा रहेका छन् ।’
मुख्य सहरमा जाँदा चार्ज गर्न समस्या छैन । ५० किलोमिटर गएर फर्किन सजिलो होस् भनेर मुलकोटमा पनि चार्जिङ स्टेशन राखी सकेका कम्पनीले जनाएको छ । आयोनिक फाइभ पनि एक पटक चार्ज गरिसकेपछि ३७५ किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख सहरहरूमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाइ मोटर्स विश्वको टप ५ अटोमोवाइल उत्पादक मध्ये हो । कम्पनीले उत्कृष्ट क्वालिटीको भेहिकल बनाउँदै विश्वका करोडौँ ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस