काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८÷७९ को सात महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कुल २१ अर्ब ८१ लाख रुपैयाँभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको माघसम्मको तथ्यांक अनुसार सञ्चालित २० निर्जीवन बीमा कम्पनीहरुले उक्त कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
उक्त अवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । समितिका अनुसार चालू आवको सात महिनाको सात महिनामा यो कम्पनीले २ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै बढी कुल बीमा शुल्क आर्जनमा दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले उक्त अवधिमा १ अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
निर्जीवन बीमा कम्पनीहरुमध्ये उक्त अवधिमा सबैभन्दा कम कुल बीमा शुल्क आर्जन सानिमा जनरल इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले चालू आवको सात महिनामा ५२ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यी निर्जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्र २ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
६ कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्बमाथि
चालू आवको सात महिनाको अवधिमा ६ वटा निर्जीवन बीमा कम्पनीले १ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । उक्त अवधिमा १ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, नेको इन्सुरेन्स, सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड रहेका छन् । यमध्ये शिखरको कुल बीमा शुल्क आर्जन २ अर्बभन्दा बढी छ ।
स्रोत : बीमा समिति
प्रतिक्रिया दिनुहोस