काठमाडौं । सरकारले कृषि बीमालाई प्रोत्साहन गरेसँगै लघुबीमा गर्ने पनि बढेका छन् । बीमा समितिका अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ (आव)को पुस र माघको तुलना गर्दा एक महिनाको अवधिमा लघु बीमा गर्नेहरुको पनि बढेका छन् । एक महिनाको अन्तरालमा निर्जीवन बीमा कम्पनीहरूको लघु बीमामर्फत संकलन हुने शुल्क ३ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ ।
समितिका अनुसार लघु बीमामार्फत पुसमा ३९ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको थियो । त्यस्तै माघ महिनामा उक्त बीमा बापतको रकम ४१ लाख ११ हजार रुपैयाँ आर्जन भएको समितिको तथ्यांकमा उल्लेख छ । समितिका अनुसार पछिल्लो समय कृषि बीमामा लघु बीमा गराउने बढ्दै गएका छन् । कृषि बीमा गराउदा धेरैले लघु बीमामार्फत नै गराएकाले पनि लघु बीमामा वृद्धि भएको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमन पौडेलले जानकारी दिए । ‘अहिले कृषि बीमा गर्नेहरू बढ्दै गएकोले लघु बीमा गराउनेको संख्या बढेको देख्न सकिन्छ । कृषि बीमालाई सरकारले पनि प्रोत्साहन गरेकाले यो बीमा गर्नेहरू अहिने बढ्दै गएका छन्,’ उनले भने ।
समितिले बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रम क्रमस बढाउँदै लगेकोले पनि पछिल्लो समय कृषि, पशुलगायत बीमा गराउनेको संख्या बढ्दै गएको प्रवक्ता पौडेल बताउँछन् । उनका अनुसार बीमा सबैका लागि अपरिहार्य भएकाले स्थानीय सरकारले बीमाको महत्व बुझेर त्यसलाई आफ्नोतर्फबाट स्थानीय जनतालाई बुझाउनु पर्ने आवश्यकता रहेको छ । यसका लागि समितिले विभिन्न स्थानीय तहसँग बीमा सचेतनामूलक कार्यक्रम अगाडि बढाउने उनले जानकारी दिए ।
यस्तै प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी लघु बीमा गर्नेको वृद्धि प्रदेश १ मा भएको छ भने बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा भने लघु बीमा गर्नेहरू घटेका छन् । तथ्यांकअनुसार पुसको तुलनामा माघमा कर्णालीमा १८ प्रतिशत, लुम्बिनीमा १४ प्रतिशत र बाग्मतीमा ५ प्रतिशतले लघु बीमा गर्ने घटेका छन् । कर्णाली प्रदेशमा पुसमा लघु बीमा शुल्कबापत ९३ हजार रुपैयाँ आर्जन भएको थियो भने माघमा उक्त शुल्कबापत ७६ हजार रुपैयाँ मात्र निर्जीवन बीमा कम्पनीहरूलाई आर्जन भएको थियो ।
यसैगरी लुम्बिनी प्रदेशमा लघु बीमाशुल्क बापत पुसमा ४ लाख ९७ हजार रुपैयाँ आर्जन भएको थियो भने माघमा उक्त बीमाशुल्क ४ लाख २७ हजार रुपैयाँ आर्जन भएको थियो । बाग्मती प्रदेशमा पुसमा १३ लाख ५१ हजार लघुबीमा शुल्क संकल हुँदा माघमा भने घटेर १२ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ ।
प्रदेश नं. १ मा लघु बीमा गर्ने बढेसँगै लघु बीमाशुल्क संकलन पनि बढेको छ । समितिका अनुसार यो प्रदेशमा पुसको तुलनामा माघमा लघु बीमा शुल्क संकलन ३१ प्रतिशतले वृद्धि भएको छ । यो प्रदेशमाले पुसमा ६ लाख ५६ हजार लघु बीमाशुल्क संकलन गरेकोमा माघमा ८ लाख ६२ हजार रुपैयाँ पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस