aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज बाँडफाँट हुदैं, ७७ हजार ४५६ जनाले शेयर पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ फागुन २०७८
नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज बाँडफाँट हुदैं, ७७ हजार ४५६ जनाले शेयर पाउने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिउसो १ बजे येलो पेगोडा होटल, जमल काठमाडौंमा आईपीओ बाँडफाँट गर्न लागेको हो । कम्पनीको आईपीओमा करिब २६ लाखले आवेदन दिएका छन् । मागभन्दा ३८ गुणा आवेदनपरेको यस कम्पनीको आईपीओ ७७ हजार ४५६ जनाले मात्र पाउनेछन् । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको ७ लाख ७४ हजार ५६३ कित्ता आईपीओ बाँडफाँट गर्न लागेको हो । 

हालको बाँडफाँट ब्यवस्था अनुसार न्यूनतम १० कित्तासम्म माग गर्ने योग्य आवेदकहरुमध्यबाट ७७ हजार ४५६ जनालाई गोलाप्रथाका माध्यमबाट पहिलो चरणमा १० कित्ताका दरले शेयर बाँडफाँट हुनेछ । त्यसपछि बाँकी रहेको ३ कित्ता शेयर थप तीन जनाले एक कित्ताका दरले पाउँनेछन् । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म प्राप्त गर्र्नेछन् । कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको सहित कुल रू. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण हुने कुल कित्ता शेयरमध्य शून्य दशमलव ५ प्रतिशत दरको १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । 
कम्पनीको  यो आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ । आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ । हाल संस्थापक तर्फ ६७ दशमलव ५० प्रतिशत स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर बाँडफाँट गर्नेछ । 

गत आर्थिक वर्ष ०७७/७८ सम्मको अपस्किृत वित्तीय विवरण अनुसार  कम्पनीको प्रतिशेयर आम्दानी रू. ९४ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. ३५२ दशमलव २३ रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७६/७७ सम्म रू. २६० दशमलव ८४ रहेको छ । उक्त अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी रू. ५६ दशमलव ८७ छ । धितोपत्र दोस्रो बजारमा नयाँ कम्पनीहरुको कारोबार गर्न मिल्ने शेयर सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारयोग्य हुने व्यवस्था छ । यस आधारमा नयाँ कम्पनीको कारोबार खुला हुनका लागि पनि पहिलो दिन स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार म्याच हुनुपर्ने हुन्छ । 

नेप्सेले पहिलो कारोबारका लागि तोकेको मूल्यरेञ्जको आधारमा स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भए मात्र नियमित सेसनमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । यस कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता रू. २६० दशमलव ८४ देखि अधिकतम रू. ७८२ दशमलव ५२ सम्मको मूल्यरेञ्ज तोक्ने देखिन्छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस