aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ फागुन २०७८
नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म पाए

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँट भएको छ । मंगलवार येलो पेगोडा होटल, जमल काठमाडौंमा भएको बाँडफाँट कार्यक्रममा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा पहिलो चरणमा ७७ हजार ४५६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

 यसरी बाँडफाँट गरी बाँकी रहेको तीन कित्ताशेयर दोस्रो चरणमा थप तीन जनालाई एक कित्ताका दरले बाँडफाँट गरिएको छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म पाएका छन् । 
कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिएकामध्य २४ लाख ४९ हजार ६ सय ४५ जना आवेदकको भने हात खाली भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललका अनुसार कम्पनीको आईपीओ खरिदका लागि कुल २५ लाख २७ हजार १ सय १ जना आवेदकहरुबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको माग भएको थियो । 

 कुल आवेदकहरुमध्य रितपूर्वक नभएका ४ हजार १ सय १६ जनाको आवेदन रद्द भएको छ । बाँकी २५ लाख २२ हजार ९ सय ५५ जना योग्य आवेदकहरुलाई मात्र बाँडफाँटमा सहभागी गराईएको विक्री प्रबन्धकको भनाई छ । 

कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको सहित सर्वसाधारणमा कुल रू. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ वितरण गरेको हो । 

सर्वसाधारणमा वितरण हुने कुल कित्ता शेयरमध्य शून्य दशमलव ५ प्रतिशत दरको १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ । 

आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २५ करोड ५० लाख पुगेको छ । हाल संस्थापक तर्फ ६७ दशमलव ५० प्रतिशत स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर बाँडफाँट गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस