
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको आज बोलाईएको २५ औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीका अध्यक्ष कुमार पाण्डेले गणपूरक संख्या नपुगेकाले सभा स्थगित गरिएको जानकारी दिएका हुन ।
कम्पनीले १९ दशमलव ५ प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित सभा बोलाएको थियो कम्पनीले पहिलो पटक लाभांश र हकप्रद निष्कासन गर्न लागेको थियो । कम्पनी अध्यक्ष पाण्डेले आजै साझ सञ्चालक समितिको बैठक बसी आगामी साधारण सभाको टुङ्गो लगाउँने जानकारी समेत दिएका छन् ।
कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ती गर्ने प्रस्ताव समेत सभाका लागि तय गरेको थियो । कम्पनीले सुनकुोशी हाइड्रोपावर कम्पनीलाई १ बराबर शून्य दशमलव २५ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गर्न लागेको हो ।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको मिति भने पहिलाकै कायम हुनेछ । बुक क्लोजको आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५१ लाख ८६ हजारको आधारमा १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो । पूँजी बृद्धिका लागि बोनस वितरण पछि कायम चुक्तापूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो ।
प्रतिक्रिया दिनुहोस