
काठमाडौं । कोरोना बीमाको रकम भुक्तानी गर्ने तयारी भएको छ । लामो समयदेखि रोकिएको कोरोना बीमाको रकम भुक्तानी हुने भएको बीमा समितिले जनाएको छ । समिति स्रोतका अनुसार कोरोना बीमा बापतको बाँकी रकम अर्थ मन्त्रालयले निकासा गर्न लागेपछि कोरोना बीमाको बाँकी रकम भुक्तानी हुन लागेको हो ।
यस अघि पुलमार्फत ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने दायित्व निजी बिमा कम्पनी र समितिको भएकाले उक्त रकम भुक्तानी भइसकेको छ । त्योभन्दा माथिको दाबीको भुक्तानी सरकारले गर्ने सहमति भएको भए पनि सरकारको तर्फबाट रकम निकासा गर्न नसक्दा कोरोनाका बीमितले दाबी पाउन सकेका छैनन् ।
समिति स्रोतले भन्यो, ‘सरकारले केही रकम निकासा गर्ने भएको छ । अरू बाँकी पैसा पुन बीमा समिति र सम्बन्धित कम्पनीहरूले नै दिने छन् ।’ कोरोना बीमा विषम परिस्थितिमा लागू भएको हुनाले अब यसको दायित्व पुन बीमा समिति, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले नै दायित्व बहन गर्न पर्ने अबस्था आएको स्रोतले बतायो ।
नेपाल बीमक संघका महासचिव तथा नेको इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) अशोक खड्काले भने बीमा कम्पनीले पुन कोरोना बापतको रकम दिने भन्ने विषयमा आफूहरुसम्म नआइसकेको बताए । उनले भने, ‘अर्थ मन्त्रालयले कोरोना बीमाको रकम निकासा गर्दै छ भन्ने कुरा त मैले पनि सुनेको हो तर कम्पनीहरूले नै उक्त बीमाको दायित्व बहन गर्ने गरी निर्णय गरेको भन्ने कुरा मलाई थाहा छैन ।’
यस अघि पुलमार्फत ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनी र समितिको भएकाले उक्त रकम भुक्तानी भइसकेको छ । त्योभन्दा माथिको दाबीको भुक्तानी सरकारले गर्ने सहमति भएको भए पनि सरकारले रकम निकासा नगर्दा कोरोना बीतिमले दाबी पाउन सकेका छैनन् ।
बीमा समितिको तथ्याङ्क अनुसार हालसम्म कोरोना बीमामा १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको छ । हालसम्म कोरोना बीमा पुलमार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरूबाट १ अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । कोरोना बीमा कार्यविधि अनुसार सरकारले अनुदानका रुपमा कोरोना बीमा दावीको बहन गर्ने भनेको ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस